प्रदेश इन्चार्जको समन्वयमा माओवादी केन्द्रले मुख्यमन्त्री चयन गर्ने



काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ ।

नेकपा(एमाले) र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नं ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । मुख्यमन्त्रीमा आकाङ्क्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

दुई दलबीचको सहमतिअनुसार एमालेले प्रदेश नं १, ३, ४ र ५ तथा माओवादी केन्द्रले  प्रदेश नं ६ र ७ मा साझा रुपमा मुख्यमन्त्रीमा उम्मेदवारी दिने भएका छन् । त्यसैगरी प्रदेशको सभामुखमा एमालेबाट प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ । त्यस्तै प्रदेश नं ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ ।

सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ । माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नं ६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकाङ्क्षी देखिएका छन् । यस्तै प्रदेश नं ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् ।

उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने हिसाबले पार्टीले निर्णय गर्ने प्रवक्ता भुसालको भनाइ छ ।


क्लिकमान्डु