चिया बगानमा मजदूर अभाव



इलाम । बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ ।

चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ ।

मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गरेर गुजारा चल्न छाडेपछि ३२ वर्षदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इलाम नगरपालिका–७ की सरस्वती चौलागाईंले काम गर्न छाडेकी छिन् ।

‘रातदिन चिया बगानमा खट्नुपर्छ, चियामा काम गरेको पैसाले पुग्दैन, बिहान बेलुका हातमुख जोर्न मुस्किल परेपछि काम छाडेकी हुँ, उनीले भनिन् ।

इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदूरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् । दैनिक आठ घण्टा काम गरेबापत २ सय ५४ रुपैयाँ चिया मजदूरको पारिश्रमिक तोकिएको छ । यहाँका चिया बगानमा कार्यरत मजदूरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

मजदूर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ । पत्ती छिप्पिने गरेको छ । युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट शहर जाने र शहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् ।

मजदूर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्योदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताए । चिया मजदूरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदूर आशिष राईले बताए ।

इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । इलामका चारवटा चिया बगानमा कार्यरत मजदूरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ । धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदूर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदूरमात्र भेटिन्छन् ।

जीवनको आधा उमेर चिया बगानमा काम गरे पनि आफूहरूको पक्षमा कुनै ठोस प्रगति हुन नसकेको राईको गुनासो छ । बूढेसकालमा चिया मजदूरका लागि न त निवृत्तिभरण छ, न त उपदानकै व्यवस्था । नेपाल चिया मजदूर श्रमिक संघकी केन्द्रीय उपाध्यक्ष नर्वदा निरौलाले चिया मजदूरको समस्या समाधान गर्न चिया बगान र उद्योग व्यवस्थापन गम्भीर बन्नुपर्नेमा जोड दिए ।

पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदूर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् । सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ चिया मजदूर विस्थापित भइसकेका छन् ।

सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनवटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो । सो समयमा ८५८ मजदूर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् । रासस


क्लिकमान्डु