‘पाल्पाली करुवा’ उद्योग धराशायी



पाल्पा । पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन् ।

सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन् ।

करुवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा र उत्पादनका लागि कच्चा पदार्थ धातु, काँच, मैन र कोइलाको अभावले उद्योग संकटमा परेका हुन् । विगतमा तानसेनमा २५ वटा उद्योगमा करुवा उत्पादन हुँदै आए पनि पछिल्लो वर्षमा तीनवटा मात्र सञ्चालनमा रहेका उद्योगका सञ्चालक प्रदीप बज्राचार्यले बताए ।

“माग बढी भए पनि उद्योग बन्दै हुँदै गएपछि आपूर्तिमा समस्या भएको छ,” उनले भने । पाल्पाली करुवा मागअनुसार उत्पादन हुन सकेको छैन । दशैँदेखि कच्चा पदार्थ भारतबाट आयात गर्न नसक्दा उत्पादन न्यून मात्रामा गर्न सकेको श्रेष्ठको भनाइ छ ।

स्थानीय तह, घरेलु उद्योग र पाल्पा उद्योग वाणिज्य संघको बेवास्ताका कारण वर्षेनी उद्योग बन्द हुँदै गएका हुन् । पहिला मासिक रु ५० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरे पनि हाल उत्पादनमा कमी आउँदा आम्दानी घटेको छ । पाल्पाली करुवा हस्तकलाको प्रयोग गरी निर्माण गर्दा मेहनत र श्रम बढी लाग्ने भएकाले अन्य ठाउँको भन्दा महँगो हुन्छ ।

“भोजपुरी र पोखरेली करुवा मेसिनद्वारा उत्पादन गरिन्छन्, पाल्पाली करुवा हस्तकलाको प्रयोगले निर्माण गरिन्छ,” तानसेन टक्सारका करुवा व्यवसायी लालचन्द्र शाक्यले भने । लोप हुने अवस्थामा पुगेको पाल्पाली करुवाको संरक्षण तथा बजार प्रवद्र्धनका लागि स्थानीय तहबाट पहल गरिनुपर्नेमा उनले जोड दिए ।

पाल्पाली करुवा उपहार आदानप्रदानका लागि बढी प्रयोग गरिँदैआएको छ । यहाँको करुवा जापान, बेलायत, अमेरिका र थाइल्याण्डसम्म निर्यात हुने गरे पनि मागअनुसार उत्पादन हुन सकिरहेको छैन । करुवासँगै काँचका थाल, कचौरा, पानसलगायत सामग्री किन्न उपभोक्ता यहाँ आउने गरेका छन् ।

जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाली करुवा संरक्षणका लागि तथा उत्पादन बढाउन अध्ययन भइरहेको बताए ।


क्लिकमान्डु