वाहालवाला सचिव भन्छन्- मन्त्रालय त व्यापारीले पो चलाउँदा रहेछन् !



काठमाडौं । गत बिहीबार मात्रै पर्यटन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएका सचिव महेश्वर न्यौपानेले केही व्यापारीले मन्त्रालय चलाउने गरेको आरोप लगाएका छन् ।

सोमबार पर्यटन मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सचिव न्यौपानेले व्यापारीको प्रस्ताव मन्त्रीले बोकेर हिँड्ने र नमान्दा सरुवा हुने गरेको समेत खुलासा गरेका छन् । मन्त्रालयका सहसचिवहरु नै व्यापारीको फाइल सिधै मन्त्री भएको ठाउँमा पु¥याउने गरेको समेत आरोप न्यौपानेले लगाए ।

‘अन्यत्र यस्तो भनेको सुनेको थिए, तर पर्यटन मन्त्रालयमा खुलमखुला हाबी रहेको पाएँ,’ सचिव न्यौपानेले भने ।

पर्यटनमन्त्री जितेन्द्रनारायण देवको अनैतिक हस्तक्षेप स्वीकार नगरेका कारण पाँच महिनामै सरुवामा परेको समेत न्यौपानेको भनाई थियो । सचिव न्यौपानेले निर्णय प्रभावित गर्न खोज्ने व्यापारीलाई आफ्नै मन्त्रालयका केही सहसचिवले सघाउने गरेको समेत बताए ।

‘आफ्ना अभिष्ट पूरा गर्न अहम् व्यक्ति समूहतिर दौडिने, अपारदर्शी ढंगले प्ले गर्ने कुरामा कोही सहकर्मी लाग्नु हुँदैन,’ उनले भने, ‘यो विकृत र विशृंखलित अभ्यास गर्नु हुँदैन ।’

यसैबीच सोमबार पर्यटन मन्त्रालयमा नयाँ सचिवका रुपमा कृष्णप्रसाद देवकोटाको पदबहाली भएको छ । उनले नयाँ सरकार नआउन्जेल कसैको पनि दबाबमा सरुवा बढुवा नगर्ने बताए ।

‘सचिवलाई रिपोर्टिङ नगरीकन, सचिव हाजिर भएकै दिन मन्त्रिपरिषद्मा हस्ताक्षर गरी प्रस्ताव जान्छ । यस्तो विकृति नदोर्होयाइयो,’ न्यौपानेले भने ।

कानुनको उल्लंघन गर्ने तथा अनुशासन तोड्ने जोकोहीलाई कारबाही हुने उनले चेतावनी दिएका छन ।

‘नेपालमा एउटा समूह जे पनि गर्न र गराउन सक्छु भन्ने छ, हामीले रोक्न सक्नु पर्दछ,’ सचिव देवकोटाले भने ।

त्यस्तो समूह पूर्ण व्यापारी समेत नभए तर मन्त्री, प्रधानमन्त्री तथा नेताहरुसंग मात्रै नभएर मन्त्रालयका अधिकृत, सचिव सहसचिव सम्म उठबस हुने गरेको देवकोटाले बताए ।


पुष्प दुलाल