बजेट अभावमा निर्माणाधीन सडकको काम बन्दहुने अबस्था



कपिलवस्तु । बजेट अभावका कारण कपिलवसतुका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् ।

डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका ६ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो ।

बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका ६ वटा मुख्य सडकको निर्माण कार्य यति बेला बजेट अभावका कारण ठप्प हुने अवस्थामा छन् ।

जिल्लाको कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगर, बरोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माणबीचमै रोकिने भएको हो ।

निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि कामबीचमै रोकिने सम्भावना बढेको डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ ।

डिभिजन सडक कार्यालय शिवपुरले गत आवमा ठेक्का सम्झौता गरी अहिलेसम्म सबै सडकमा काम भइरहेको भए पनि मन्त्रालयबाट समयमै थप बजेट नआउँदा चालू आवमा कामको भुक्तानी दिनसमेत समस्या भएको डिभिजन प्रमुख रमेश पौडेलले जानकारी दिए ।

उनले भने, ‘तीन वर्षको ठेक्का सम्झौता भएको छ, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन कसरी काम अघि बढाउने’ ।

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गदेखि प्राचीन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको ८ किलोमिटर सडक निर्माण द्रुत गतिमा भइरहेको छ । सात मिटर चौडा कालोपत्रे सडक निर्माणका लागि १५ करोडमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ ।

तर ठेकेदार कम्पनीले २५ प्रतिशतभन्दा बढीको काम गरिसकेको कार्यालयले जनाएको छ । आव २०७४ ठेकेदार सागर भुसालले अहिलेसम्म ४ करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गरे । रासस


क्लिकमान्डु