मत संकेत गर्ने तरिका सिकाउन निर्देशन



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

ललितपुरको गोदावरीमा आज आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनःमतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गरे ।

उनले यही माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट त्यसको पूर्ण पालना हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षणमा आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तह र प्रदेशसभाका गरी दुई हजार ५६ मतदातालाई मत संकेत गर्न सिकाउनुपर्ने बताउँदै हरेक मतदातालाई राम्रोसँग मत संकेत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा जोड दिए । ललितपुरका प्रजिअ महादेव पन्थले राष्ट्रियसभा सदस्य निर्वाचन  सफल बनाइने दृढता व्यक्त गरे ।

प्रदेश नं ३ को राष्ट्रियसभा सदस्य निर्वाचन ललितपुरमा हुँदैछ । एकदिने उक्त प्रशिक्षणमा प्रदेश नं ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता थियो ।


क्लिकमान्डु