राजधानीबाट भक्तपुर जाने वैकल्पिक सडक बिस्तार गरिँदै



भक्तपुर । काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुँदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ ।

करिब छ किमी लामो उक्त सडकमा दोहोरो यातायात सञ्चालनमा समस्या आएको र सडक जाम हुन थालेपछि विस्तार कार्य अगाडि बढाएको हो । डिभिजन सडक कार्यालयको कूल ५४ करोड रुपैयाँको लागतमा विस्तार शुरु भएको उक्त सडक फुटपाथसहित २० मिटरको चौडाइ बनाइने मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

सडक विस्तारको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गरेका थिए । बस्नेतले भक्तपुरको वैकल्पिक मार्गका रुपमा रहेको यो सडक विस्तारले थिमिको विकासमा ठूलो टेवा पुर्याउने बताए।

सडक विस्तार परियोजनाअन्तर्गत विस्तार शुरु भएको सडकमा परेका पुराना घर भने नभत्काइने भएको छ । बाहाखा बजारमा वर्षौंदेखि रहेका पुराना घर तत्काल नभत्काउने र घर भत्काउनु पर्ने अवस्थामा भने सरकारसँग उचित क्षतिपूर्ति माग गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

चार वर्ष रोकिएको बालकोट र सूर्यविनायक विस्तार शुरु

त्यसैगरी स्थानीयवासीको विरोध र विवादका बीच विगत चार वर्षदेखि रोकिएको सूर्यविनायक नगरपालिका वडा नं २ र ३ मा पर्ने बालकोट चोकदेखि मध्यपुरथिमिको चारदोबाटो जाने सडक विस्तार पनि शुरु भएको छ । बालकोट चोकदेखि एमाले अध्यक्ष केपी ओली निवास, रोज भिलेज हुँदै मध्यपुरथिमि चारदोबाटो जोड्ने सडक विस्तार शुरु भएको हो ।

एघार मिटर चौडाइ गर्न बजेट विनियोजन भए पनि स्थानीयवासीले विरोध गरेपछि हाल सहमतिमै सात मिटर चौडाइ बनाउने र स्थानीयवासीको घर भने तत्काललाई नभत्काउने सहमति भएपछि सडक विस्तार शुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

सडक विस्तारका क्रममा खाली जग्गा लिने र पर्खाल भत्काउने कार्य शुरु भएको भक्तपुर क्षेत्र नं २ प्रदेश सांसद शशिजंग थापाले जानकारी दिए । कूल चार करोड रुपैयाँको लागतमा विस्तार शुरु भएको यो सडकको कालोपत्रसँगै फुटपाथसमेत निर्माण हुने भएको छ ।

त्यसैगरी यता सूर्यविनायक नगरपालिकास्थित सूर्यविनायक चोकदेखि गणेश मन्दिरसम्म जाने सडक पनि फराकिलो पार्ने कार्य शुरु भएको छ । सूर्यविनायक नगरपालिका –७ सिपाडोलको उक्त सडक फराकिलो पार्दै सडक पेटी हडपेर राखिएका पसल एवं टहरा भत्काउने कार्य शुरु भएको छ ।

सूनपा वडा नं ७ का वडाध्यक्ष किरण थापाले मुख्य धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको सूर्यविनायक गणेश, डोलेश्वर, आशापुरी, रानीकोट जाने सडक साँघुरो भएकाले मापदण्डअनुसार फराकिलो पार्ने र सडकमा रहेका पसल तथा टहरा हटाउन थालिएको बताए।


क्लिकमान्डु