अमेरिकन ‘रमाडा’ नेपाल भित्रिदैं, यस्तो बन्दैछ सुविधासम्पन्न चार तारे होटल हेर्नुहोस्



काठमाडौं । सन् २०१८ को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड रमाडा नेपाल भित्रिने भएको छ । विश्वभर अमेकिरन चेन रमाडा नेपालमा भने ठमेल प्लाजा होटेल एन्ड सुइट्सले नेपाल भित्र्याउन लागेको हो ।

नेपालमा पहिलो पटक अमेरिकन रमाडाको चेन नेपाल ल्याउन लागेको ठमेल प्लाजा होटेल एन्ड सुइट्सका प्रबन्ध निर्देशक सागर पंगेनीले जानकारी दिए ।

पंगेनीका अनुसार निर्माणाधीन चारतारेस्तरको होटेल व्यवस्थापनका लागि अमेरिकी चेन होटेल ब्रान्ड रमाडा नेपाल आउन लागेको हो । लक्जरी आतिथ्य सेवा दिने गरी सञ्चालनमा आउन लागेको होटेलबाट नेपालमा खचार्लु पर्यटकको समेत गन्तव्य बनाउन रमाडा चेन नेपाल ल्याउन लागेको पंगेनीले जानकारी दिए ।

ठमेलमा निर्माण जारी रहेको होटलको काम ७० प्रतिशत सम्पन्न भइसकेकोले यसै वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याइसक्ने योजना रहेको पंगेनीले जानकारी दिए ।

विश्वका ६३ मुलुकमा ८ सयभन्दा बढी होटेल व्यवस्थापन गरिरहेको रमाडा अमेरिकी चेन होटेल ब्रान्ड हो । आधा शताब्दी भन्दा लामो अनुभव बोकेको कम्पनी पहिलोपटक नेपालको आतिथ्य सेवामा प्रवेश गर्न लागेको हो ।

उनका अनुसार यस होटेलमा झन्डै १ अर्ब २० करोड रुपैयाँ लगानी हुने छ । ९० वटा रुम रहने होटेलमा रमाडा ब्रान्डको चेनमा हुनुपर्ने सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिने छ ।

होटेलमा डिलक्स, सुपर डिलक्सस्तरका रुम हुनेछन् । ठमेलमा होटेल र रेस्टुरेन्टको संख्या अधिक भए पनि अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न होटेलको अभाव देखेरै कम्पनीले लगानी गरेको उनको भनाइ छ ।

पछिल्लो समय ठमेलमा अलफ्ट, मारियोट, मुलबेरीजस्ता अन्तर्राष्ट्रिय चेन ब्रान्ड आकर्षित भइरहेका छन् ।

‘विश्वमा नेपाल भन्नासाथ ठमेलको नाम चर्चित होटेल ब्रान्ड आकर्षित हुनु नेपालकै लागि प्रतिष्ठाको विषय हो ।’ नेपालमा ‘रमाडा इनकोर ठमेल’ नामबाट होटेल सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

६३ मुलुकका ८ सय होटलमा रमाडाको चेन

विश्वका ६३ मुलुकमा ८ सयभन्दा बढी होटेल व्यवस्थापन गरिरहेको रमाडा अमेरिकी चेन होटेल ब्रान्ड हो । आधा शताब्दी भन्दा लामो अनुभव बोकेको कम्पनी पहिलोपटक नेपालको आतिथ्य सेवामा प्रवेश गर्न लागेको हो ।

डालिया होटललाई ‘ट्राभलर्स च्वाइस अवार्ड २०१८’

सन् २०१५ बाट पोखरास्थित डालिया बुटिक होटेलबाट सेवा उद्योग परेको पंगेनी लगायत टिमले होटल क्षेत्रमा आक्रमक लगानी विस्तार गर्ने योजना रहेको छ । यसैबीच अन्तर्राष्ट्रिय ट्राभल साइट ट्रिप एडभाइजरबाट प्रदान गरिने ट्राभलर्स च्वाइस अवार्ड २०१८ यसवर्ष डालियले जितेको छ ।

सन् २०१५ बाट सञ्चालनमा आएको होटेलले छोटो समयमै उक्त उपलब्धि हासिल गरेको होटेलकी सेल्स एन्ड मार्केटिङ एक्जुकेटिभ प्रज्ञा खनालले जानकारी दिइन् । होटेलले ३१ कोठाबाट लक्जरी आतिथ्य सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।

ट्राभल साइट ट्रिप एडभाइजरमा होटेलको सेवाबारे पाहुनाले गर्ने ‘रिभ्यु’का आधारमा अवार्ड विजेता घोषणा गरिन्छ । गत वर्ष उक्त अवार्ड काठमाडौंको द्धारिकाज् होटलले जितेको थियो । स्थापनाको तीन वर्षमै चर्चित अवार्ड होटलले जितेको हो ।


पुष्प दुलाल