बन्द भएको २६ बर्षपछि पुनः संचालन हुँदै बाग्लुङ एयरपोर्ट



बागलुङ । आउँदो चैत पहिलो सातादेखि सञ्चालनमा आउने भनिएको बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको आज प्राविधिक अध्ययन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थलको समग्र वस्तुस्थिति अध्ययन गरेको छ । अध्ययन टोलीमा प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी तथा इन्जिनीयरद्वय ताराकान्त शाह र मीनराज ओझा सहभागी थिए। बन्द भएको २६ वर्षपछि विमानस्थल सञ्चालन गर्ने निर्णय भएसँगै प्राधिकरणले आवश्यक तयारी अघि बढाएको हो ।

दुई साताअघि प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच चैत दोस्रो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार प्राधिकरणले प्राविधिक अध्ययन शुरु गरेको प्राधिकरणका प्रबन्धक अधिकारीले बताए ।
‘विमानस्थलको समग्र वस्तुस्थितिको अध्ययन गर्र्यौं’, उनले भने ‘आइतबार अध्ययन प्रतिवदेन पेश गर्छौं ।’

प्रतिवेदन अध्ययनपछि विज्ञसमेतको सुझावमा प्राधिकरणले आवश्यक निर्णय लिने उहाँको भनाइ छ । प्राविधिक टोलीले तत्काल गर्नुपर्ने पूर्वाधार तयारीका बारेमा नगरपालिकालाई पनि सुझाएको छ ।

विमानस्थलको दक्षिण पूर्वपट्टि रहेका सल्लाका रूख हटाउनुपर्ने देखिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘व्यवस्थित तारबार, सुरक्षा प्रबन्ध मिलाउनुपर्ने विषयमा पनि प्राविधिक टोलीबाट सुझाव आएको छ”, प्रमुख पौडेलले भने । विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले नै लिने उनको भनाइ छ ।

विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम नगरपालिकाले गर्ने जनाइएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत नगरपालिकाले पहल गर्ने यसअघि भएको सहमतिमा उल्लेख छ ।

विमानस्थलको सुरक्षा प्रबन्ध भने स्थानीय प्रशासनले मिलाउनेछ । बागलुङ सदरमुकामदेखि ८ किमीको दूरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

उक्त सडक यथाशक्य छिटो कालोपत्र गर्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने नगरपालिकाका प्रमुख पौडेलले बताए । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको थियो ।

धवलागिरि क्षेत्रको पर्यटकीयलगायत समग्र विकासका लागि बलेवा विमानस्थलले ठूलो टेवा पु¥याउने ठानिएको छ । पोखराबाट १३ मिनेटको उडानपछि आइपुगिने बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ ।

विमानस्थल सञ्चालनमा आए साबिक धवलागिरि अञ्चलका चार जिल्ला तथा पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीलगायत जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् । रासस


क्लिकमान्डु