कुलमानले भने– देशभर कतै लोडसेडिङ्ग हुँदैन्
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल मुलुकभर नै लोडसेडिङ्ग नभएको र भविश्यमा पनि नहुने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले हाल कतैपनि लोडसेडिङ्ग नभएको भन्दै सामान्य प्राविधिक समस्याहरुका कारण बेला बेलामा बत्ति जाने गरेको जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गले अहिलेको सिस्टम भरपर्दो नभएको हुँदा बेला बेलामा समस्या आउने गरेको बताए ।
‘देशैभरी लोडसेडिङ्ग छैन र हुँदैन, तर हाम्रो सिस्टम रिलायबल नभएको हुँदा समस्या आउने गरेको हो, अझ हिजोको पानीले २५ स्थानमा ट्रिपलिङ्ग हुँदा झनै समस्या देखियो,’ उनले भने ।
उनकाअनुसार हाल आवश्यक विद्युत उपलब्ध रहेको र लोडसेडिङ्ग हुने अवस्था छैन् । चमेलिया जलविद्युतको उत्पादन समेत राष्ट्रिय प्रशारणमा जोडिएपछि झन सहज भएको उनको भनाई थियो ।
प्राधिरकणकाअनुसार चमेलिया जलविद्युत आयोजनाबाट हाल १५ मेगावाट विद्युत आएको र थप १५ मेगावाट आएपछि थप राहत हुने जानकारी दिए ।
प्राधिकरणले उद्योगहरुका लागि भने दैनिक ३ घण्टाको लोडसेडिङ्ग गरिरहेको जानकारी दिएको छ । तर उद्योगहरुका लागि यसअघिको भन्दा राम्रो प्रणाली उपलब्ध गराएको र उद्योगहरुबाट राम्रो प्रतिकृया पाएको कार्यकारी निर्देशक घिसिङ्गको भनाई थियो ।