इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो




इलाम । हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ ।

वर्षायाममा काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने विद्युत् उत्पादन गृहले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी क्षमताको सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सवस्टेसनले जनाएको छ । उक्त हाइड्रोपावर आयोजनाले वर्षायाममा ३० मेगावाट विद्युत उत्पादन गरेको थियो ।

१८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुवै विद्युत् गृहबाट हाल ६.१८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले २ हजार ५ सय किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव १५ मेगावाट उत्पादन भइरहेको उक्त आयोजनाले जानकारी दिएको छ ।

इलामका मात्र होइन पाँचथर र ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भने प्रशारण लाइन नहुँदा राष्ट्रिय प्रशारणमा कमै मात्र पुग्ने गरेको छ । केन्द्रीय प्रशारण लाइन नहुँदा हेवा खोलामा उत्पादित विद्युत् इलाम पाँचथर ३३ केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । ३३ केभी क्षमता नभएपछि न्यून मात्रामा विद्युत् केन्द्रीय प्रशारणमा जोडिएको हो ।

हेवाखोला, जोशी हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरबाट उत्पादित विद्युत् इलामको तिल्केनीस्थित सवस्टेसनमार्फत हाल करिब ६ मेगावाट विद्युत् मात्र गोदक सवस्टेसनमा निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख रवीनबाबु घिमिरेले बताए ।

सुख्खायामको शुरूवातसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान थालेपछि उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् । झण्डै पाँच महिनादेखि वर्षात् नभएकाले खोलामा पानीको सतह घट्दै जानु र किसानले बाली सिँचाइका लागि पानी लैजानाले उत्पादन घटेको हो ।

वर्षा नभए अझै उत्पादन घट्न सक्ने उत्पादन गृहले जनाएका छन् । धेरै सुख्खा भएको अवस्थामा अघिल्ला वर्षहरू भन्दा यसपाली अझ विद्युत् उत्पादन घट्ने भएको छ । सुरूङदेखि पावर हाउससम्म आउने पाइप लाइन छोटो भएकाले क्षमताअनुरूप विद्युत् निकाल्न धेरै पानी चाहिने भएकाले सुख्खा मौसममा उत्पादन घटेको कर्मचारी बताउँछन् ।

जिल्लाका ठूला जलविद्युत् आयोजनाका साथै ग्रामीण क्षेत्रमा सञ्चालित लघु जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन घटेको छ ।

फाकफोक, एकतप्पा, आमचोक, फूएतप्पामा उत्पादन भइरहेका जलविद्युतमा पानीको बहाव घटेकाले विद्युत् उत्पादनसमेत घटेको फाकफोक खोला पहिलो लघु जलविद्युत् आयोजनाका कर्मचारी दिलेन्द्र मगरले बताए ।


क्लिकमान्डु