एनआरएनएले १० अर्बको पूर्वाधार कोष खडा गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले १० अर्ब रुपैयाँको ‘गैरआवासीय नेपाली पूर्वाधार विकास कोष’ स्थापना गर्ने भएको छ । नयाँ कार्यसमिति आएसँगै निर्णय गरिएको पूर्वाधार कोष स्थापनाको अभियान विश्वभरबाट सुरु गरेको एनआरएनएले जनाएको छ ।

यसको लागि नेपाल सरकार र सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी प्रारम्भिक अवधारणापत्र तयार भई विभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा छलफलको चरणमा रहेके समेत एनआरएनले जनाएको छ । गैरआवासीय नेपाली संघ युकेको आथित्यतामा ‘गैरआवासीय नेपाली पूर्वाधार विकास कोष’ बारे पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

भौतिक पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्नको लागि १० अर्व नेपाली रुपैंयाको एक ‘गैरआवासीय नेपाली पूर्वाधार विकास कोष’ को स्थापना गर्ने घोषणा गरेको हो । लगानी कोषमा निश्चित अंश वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुनिश्चित गरिनेछ । यस कोषमा आफ्नो क्षमता अनुसारको लगानी गर्न सबै गैरआवासीय नेपालीहरुलाई आव्हान समेत एनआरएनले गरेको छ ।

यसअघि ३५ देशका ८३५ लगानीकर्ताको सहभागितामा स्थापना भएको ‘एनआरएन ईन्भेष्टमेन्ट कम्पनी’ ले नेपालको निजी क्षेत्रको साझेदारीमा लम्जुङको दोर्दी खोलामा २७ मेघावाटको जलविध्युत परियोजनाको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ ।

नयाँ स्थापना हुन लागेको कम्पनी आईपीओमा जान आवश्यक भएकोले आइपीओमा जान पाउने ब्यबस्था गर्न नेपाल सरकारलाई एनआरएनले माग समेत गरेको छ । नेपाल सरकारले प्रत्यक्षरुपमा सरकारको लगानी रहेका संस्थहरु संचय कोष, बीमा संस्थान, नागरिक लगानी कोष, बिद्युत विकास कोष आदिमार्फत उचित अंश यस कोषमा लगानी गर्न समेत एनआरएनले अनुरोध गरेको छ । एनआरएनले बिप्रेषण (रेमिट्यान्स) लाई बैंकिङ च्यानलबाट नेपालमा भित्र्याउन संघले सहयोग गर्ने प्रतिवद्दता समेत गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, बेलायतका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी, नेपाल उघोग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमईका अध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायत सहभागि थिए ।


पुष्प दुलाल