गाईपालन गरेर मासिक लाखौं रुपैयाँ कमाउँछन् किसान
पाल्पा । माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।
एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् ।
दूध बिक्रीबाट प्रति परिवारले मासिक ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला पशुसेवा कार्यालयले दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट उत्साहित भई कृषकले व्यावसायिक प्रणालीबाट गाईपालन व्यवसाय शुरु गरेका हुन् ।
कृषकलाई व्यावसायिक पशुपालनमा आकर्षित गराउन पशुसेवा कार्यालयले यहाँ २०६७ मा डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियान शुरु गरेको हो । सो कार्यक्रमका लागि कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत एक घरपरिवारलाई दुई हजार पाँच सय रुपैयाँ र गाई ढुवानी खर्चबापत एक हजार रुपैयाँ अनुदान रकम सहयोग गरेको पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए।
सो क्षेत्रबाट दैनिकजसो ५०० लिटरभन्दा बढी दूध बजारमा खपत हुँदै आएको छ । दूध बिक्री गर्न थालेपछि यहाँका कृषकको दैनिकी फेरिँदै गएको छ । जीवलाल अर्यालले विदेशबाट फर्केर गाईपालन व्यवसायबाट अहिले मासिक एक लाख रुपैयाँको हाराहारीमा कमाइ गर्छन् । उनले सातवटा गाईबाट दैनिक ८० लिटर दूध बिक्री गर्छन्।
त्यस्तै यमबहादुर रिजालले दैनिक ५० लिटर दूध बिक्री गरेर मासिक ८० हजार रुपैयाँ आम्दानी गर्दैआएका छन् । उनले पनि विदेशबाट फर्केलगत्तै सो व्यवसाय शुरु गरेका हुन्।
दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन र घरखर्च चलाउन सजिलो भएको कृषक कृष्ण भट्टराई बताउँछन् । उनले दैनिक छवटा गाईबाट ८० लिटर दूध बिक्री गर्छन् । एक महिनामा दूध बिक्रीबाट एक लाख रुपैयाँको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताए ।
पहिले यहाँका कृषक अन्नबाली, गेडागुडी लगाएर सामान्यरुपमा जीवन गुजारा गर्न बाध्य थिए । अहिले दूध बिक्रीबाट नसोचेको आम्दानी भित्र्दै जाँदा कृषक आफैँ दंग छन् । कृषकको सहजता र व्यवसायमा हौसला बढाउन डुम्रे दुग्ध उत्पादक सहकारीले घरदैलोमै पुगेर दूध खरिद गरेपछि कृषकलाई दूध बिक्री गर्न सहज भएको छ।