खाद्यान्नको गुणस्तर परीक्षण गरिने



काठमाडौं । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ ।

खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए ।

भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने दूतावासले सो भवन दुई महिनाअघि संस्थानलाई हस्तान्तरण गरिसकेको छ । सो भवन ५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग एक्लैले गर्दै आएको छ । खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी र अन्य खाद्य सामग्री परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले बताए ।

मेसिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापन कार्य बाँकी नै रहेको छ र उक्त व्यवस्था यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आपूर्ति मन्त्रालयको नीति र निर्देशनअनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुनेछ ।

संस्थानले यसवर्ष दुई लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य लिएको छ । हालसम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको कार्यालयले जनाएको छ । यसवर्ष जापानबाट ५१ हजार क्विन्टल चामल प्राप्त हुने र दुर्गम तथा अत्यावश्यक स्थानमा पठाउने योजना संस्थानले गरिरहेको सापकोटाको भनाइ छ । रासस


क्लिकमान्डु