यी हुन काँग्रेसबाट चार प्रदेशका उम्मेदवारहरु



काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले प्रदेश नं ४ मा सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपाङ्ग), प्रदेश नं ५ मा दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपाङ्ग) लाई उम्मेदवार बनाएको हो ।

त्यस्तै काँग्रेसले प्रदेश नं ६ मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा (अपाङ्ग) लाई उम्मेदवार बनाएको छ । यसअघि पार्टीले सोमबार प्रदेश नं. ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग), र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

काँग्रेसले बाँकी प्रदेश नं १, २ र ३ मा पनि आजै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । आयोगको तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।

काँग्रेसले निर्वाचनमा विभिन्न प्रदेशमा फरक फरक दलसँग सहकार्यका लागि छलफल समेत जारी राखेको छ । काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा मधेस केन्द्रित दलसँग, प्रदेश नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र विवेकशील साझा पार्टीसँग सहकार्य गर्ने संभावना छ ।


क्लिकमान्डु