भैरहवा क्षेत्रका सबै सिमेन्ट उद्योगमा एमाले र माओबादी भातृ संगठनले लगाए ताला




काठमाडौं । भैरहवा क्षेत्रमा खुलेका सिमेन्ट उद्योगमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृसंगठन वाईसिएलले तालाबन्दी गरेका छन् ।

पछिल्ला दिनमा सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै उद्योगमा तालाबन्दी गरिएको दुई संगठनले जनाएका छन् ।

करिब ४०/५० वटा मोटरसाईकलमा गएका युवाहरुले धमाधम तालाबन्दी गर्दै हिडेको व्यवसायीहरुले बताए ।

लुम्बिनी क्षेत्रमा रहेका जगदम्बा, वृज, सिद्धार्थ, सुप्रिमलगायत उद्योगमा तालाबन्दी गरिसकेका छन् भने उनीहरु अन्य उद्योगमा ताला लगाउँन अघि बढेका छन् ।

‘उद्योगमा तालाबन्दी गर्दै एउटा समूह हिडेको भन्ने सुनेको छु, पूर्ण जानकारी पाईसकेको छैन, उनीहरुले ताला लगाएका हुन् भने प्रसाशनले तुरुन्तै गएर खोल्छ,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले क्लिकमाण्डुसँग भने ।

जिम्मेवार राजनीतिक दलका भातृ संगठनले नै उद्योगमा ताला लगाएको बिषयप्रति उद्योगीले तिब्र असन्तुष्टि जनाए ।

‘एकातिर खुल्ला बजार अर्थतन्त्र भन्ने, अर्कोतिर राजनीतिक पार्टीका भातृसँगठनले उद्योगमा तालाबन्दी गर्ने, यसरी कसरी उद्योग चलाउन सकिन्छ,’ एक उद्योगीले आक्रोशित हुँदै भने ।

सरकार बनाउन तयारी गरिरहेका राजनीतिक दलहरुका भातृ संगठनले नै उद्योगमा तालाबन्दी गरेबाट देशमा दुईटा सरकार भएको महसुस भएको अर्का उद्योगीले सुनाए ।

‘चुनावपछि सरकारको नेतृत्व गर्ने दलका भातृसंगठनले यसरी उद्योगमा गएर ताला लगाउँदा यसको संदेश कस्तो जान्छ ?’ एक उद्योगीले प्रश्न गरे ।


क्लिकमान्डु