इँटा मजदूरले एकै सिजनमा ५ लाखसम्म कमाउँछन्




भक्तपुर । सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनी दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् ।

दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खलामा तयार रहेको माटोबाट इँटा बनाउने उनको दिनचर्या छ ।

बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ ।

त्यसैगरी, सात र दुई वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पती पनि विगत तीन वर्षदेखि इँटा पार्ने काम गर्दै आइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा उनीहरुको पनि डेरा च्याम्हसिंहमा छ । अरु बेला ज्याला मजदूरी गर्ने रोजीनाको दम्पती पनि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेको छ ।

दैनिक ज्याला मजदूरीमा भन्दा बढी आम्दानी हुने भएपछि रामबहादुर र रोजीनाको परिवार मात्र होइन सयौँ परिवार यतिखेर भक्तपुरका विभिन्न इँटा भट्टामा इँटा बनाउने कार्यमा तल्लीन छन् ।

विगत पाँच वर्षदेखि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेका रामबहादुरका अनुसार सिजनमा एक परिवारले ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म कमाउने गर्दछन् । दैनिक १ हजार २ सय देखि २ हजार वटासम्म इँटा बनाउँदै आएको बताउँदै रामबहादुरले दैनिक २ हजार देखि ३ हजार रुपैयाँ कमाइ हुने बताउँछन् ।

आफूलाई आवश्यक पर्दा इँटा उद्योगले पेश्कीसमेत दिने भएकाले पनि सिजनमा अन्य पेशा छाडेर इँटा बनाउने पेशा अंगाल्ने गरेको रामबहादुरले बताए । रोजीनाका अनुसार इँटा बनाएको ज्याला गतवर्ष प्रतिगोटा १ रुपैयाँ ५० पैसा दिएको थियो ।

यसवर्ष भट्टा व्यवसायीले इँटाको ज्याला भने निर्धारण गरेका छैनन् । रोजीनाका अनुसार प्रत्येक वर्ष केही न केही रकम वृद्धि गरेर दिने गरेको छ । विगतको तुलनामा इँटा पार्ने काम निकै सहज भइसकेको उनको भनाई छ ।

‘पहिले इँटा पार्न आफैँ खाल्डो खन्ने, मुछ्ने र अनि बल्ल इँटा पार्ने काम हुन्थ्यो, आजभोलि प्रविधिको विकाससँगै उद्योग आफैँले माटो मुछेर इँटा बनाउन तयारी माटो खलसम्म पु¥याउने व्यवस्था गरेको छ,’ उनले भनिन् ।

इँटाभट्टाले मजदूरका सन्तानलाई शिशु स्याहार केन्द्रको बन्दोबस्त गरेका कारणले पनि इँटा बनाउने कार्य सहज भएको रोजीनाले बताइन् ।

‘विद्यालय जान सक्ने केटाकेटी विद्यालय जान्छन् । विद्यालय जान नसक्ने ससाना नानीलाई शिशु स्याहार केन्द्रमा राख्नुपर्ने व्यवस्था गरेको छ, काममा उल्झन नआउने भएकाले पनि इँटा पार्ने कामबाट राम्रै कमाइ हुन थालेको हो ।’

भक्तपुर इँट्टाभट्टा व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बाले जिल्लामा अहिले सञ्चालनमा रहेका ६२ वटै इँट्टाभट्टामा रहेका मजदूरलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएको बताए । हप्ताहप्तामा कम खर्च दिइनुका साथै आवश्यक पेश्कीसमेत समयमा उपलब्ध गराउने गरेको उनले बताए । मजदूरका लागि पहिलाजस्तै अहिले माटो निकालेर मुछ्नु पर्ने समस्या छैन ।

जिल्लामा सञ्चालित सबै भट्टाका मजदूरका लागि भट्टा आफैँले माटो मुछेर खलखलमा पुर्याउने व्यवस्था गरेको छ । उनले भने ‘पहिला खलखलमा माटो मुछ्नका लागि बनाएको पोखरीमा बच्चा खसेर मृत्यु भएका घटनाका कारण पनि यो वर्षदेखि भट्टाले नै माटो मुछेर आवश्यक मात्रामा खलखलमा पुर्याउने व्यवस्था मिलाएको हो ।’

मजदूरका सानासाना नानीका लागि चार÷पाँचवटा भट्टा मिलेर उपयुक्त हुने ठाउँमा शिशु स्याहार केन्द्र खोलेको अध्यक्ष ह्योम्बाले बताए । उनका अनुसार जिल्लाका ६२ वटा इँटाभट्टाले अहिले २२ वटा शिशु स्याहार केन्द्र सञ्चालन गरिरहेका छन् । शिशु स्याहार केन्द्रमा बालबालिकालाई खाना खुवाउने, खेल्ने र पढाउने व्यवस्था उद्योग स्वयंले गरिरहेको छ ।

भट्टामा काम गर्ने मजदूरले यदि राम्रोसँग काम गरेको खण्डमा एक परिवारले मात्र एक सिजनमा ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने अध्यक्ष ह्योम्बा बताए ।

प्रतिहजार इँट्टा पारेबापत कति दिने र बोक्नेलाई कति दिने भन्ने विषयमा ठेकेदारलाई जिम्मा दिइएको उनले बताए । ‘त्यो सबै ठेकेदारले हेरेर गर्छ । यस अनुसार इँट्टा पार्ने र इँट्टा बोक्नेको छुट्टाछुटै ज्याला दिएको छ,’ उनले भने, ‘इँट्टा बोक्नेले पनि एक सिजनमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छ ।’ रासस


क्लिकमान्डु