तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा हुने



ललितपुर ।  कृषिक्षेत्रमा यान्त्रीकरणको प्रयोगलार्इ अभिवृद्धि गर्ने उद्धेश्याका साथ आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ ।

कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए।

कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहने उनले बताए ।

प्रदर्शनीमा जम्मा १० करोड रुपैयाँको कारोबार हुने आयोजकको दाबी छ । २० देशका झण्डै २०० वटाभन्दा बढी कम्पनीले प्रदर्शनीमा भाग लिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ५० हजार अवलोकनकर्ता आउने लक्ष्य रहेको छ । एकसय ५० वटा कम्पनीले छुट्टाछुट्टै स्टल राख्ने छन् । यसअघि पहिलो प्रदर्शनी चितवनमा र दोस्रो काठमाडौँमा भएको थियो ।


क्लिकमान्डु