सिजी फिन्को, चन्द्रागिरी र डिसहोमले कति सेयर देलान सर्बसाधारणलाई ?




काठमाडौं । सेवा क्षेत्रको रुपमा स्थापना भएका निजी कम्पनीहरुले सर्बसाधारणलाई पनि साझेदार बनाउने गृहकार्य थालेका छन् । निजी कम्पनीको रुपमा स्थापना भएका केही कम्पनीहरुले सर्बसाधारणलाई सेयर बिक्री गरेर पब्लिक कम्पनी बनाइसकेका छन् ।

पब्लिक कम्पनी बनेर सर्बसाधारणको लागि सेयर निस्कासनको तयारीमा डिस मिडिया नेटवर्क, सिजी फिन्को र चन्द्रागिरी केबलकार लगायतका कम्पनी छन् ।

प्राइभेट कम्पनीको रुपमा स्थापना भएर लिमिटेड कम्पनीमा रुपान्तरण भएका र लिमिटेड कम्पनीकोरुपमै स्थापना भएका कम्पनीहरुको सेयर कहिले आउँछ भन्ने चासो आम लगानीकर्तामा छ ।

दुई बर्ष भित्र टेलिकम सेवा प्रदायक कम्पनीहरुको सेयर जारी गर्नुपर्ने बाध्यकारी नियम बनेसँगै सेवा क्षेत्रका अन्य कम्पनीहरु समेत लिमिटेड कम्पनीमा रुपान्तरण हुन थालेका हुन् ।

अहिले पुँजी बजारमा बैंक तथा वित्तीय क्षेत्रको योगदान करिब ८० प्रतिशत छ । यसको कारण आम लगानीकर्ताले लगानी विविधिकरण गर्ने अबसर नपाउने गुनासो पनि सुन्ने गरिएको छ ।

धितोपत्र बोर्डले रियल सेक्टरलाई पुँजी बजारमा ल्याउन निकै पहल गरेको छ । उसको सो पहलकै कारण केही कम्पनीहरु सर्बसाधारणलाई सेयर विक्री गर्ने प्रक्रियामा छिरेका छन् । यस्ता कम्पनीहरुको प्रबेशपछि लगानीकर्ताले लगानी विविधिकरण गर्ने अबसर पाउने छन् भने पुँजी बजारमा एउटै क्षेत्रको हस्तक्षेप कम हुनेछ ।

डिस होम
डिस मिडिया नेटवर्क नेपाली टेलिभिजन सेवा प्रदायक कम्पनी हो । यो कम्पनी सन् २००९ मा स्थापना भएर आफ्नो सेवा बिस्तार गरिरहेको छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सुरुमा १० प्रतिशत साधारण सेयर जारी गर्ने प्रक्रिया सुरु गरिरहेको कम्पनी स्रोतको दाबी छ । अर्थात डिस मिडिया नेटवर्कले करिब २० करोड रुपैयाँ बराबरको सेयर सर्बसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले नेपालको सबै जिल्लाहरुमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । नेपाली र विदेशी कम्पनीको संयुक्त लगानीमा संचालनमा रहेको डिसहोमले सर्वसाधारणमा सेयरजारी गर्ने भन्दै २०७४ असार १८ गते आफूलाई प्रालिबाट लिमिटेड कम्पनीमा रुपान्तरण गरेको छ ।

कम्पनीको हाल ८० मुख्य डिस्ट्रिव्युटर र २ हजारभन्दा बढि सब–डिस्ट्रिव्युटर रहेको छ । पछिल्लो समय सरकारले केबल बिस्थापन गर्दै डिजिटाइजेशनको बाध्यकारी नियम ल्याएसँगै डिसहोमको प्रयोगकर्ता निकै बढेका छन् ।

सिजी फिन्को
चौधरी ग्रुपको लगानीमा खुलेको रेमिट्यान्स कम्पनी सिजी फिन्को १० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनी हो । सो कम्पनीले नेपालमा अमेरिकन रेमिट्यान्स कम्पनी वेस्र्टन यूनियको एजेन्टको रुपमा काम गर्दै आएको छ ।

कम्पनीले सन् २००३ देखि नेपालमा रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । पहिलो बर्ष नै सबैभन्दा चाँडो व्यवसायिक सफलता पाएको भन्दै एसियाली एजेन्ट मध्ये ‘फास्टेट ग्रोइङ २००३’ अवार्डसमेत सिजी फिन्कोले पाएको छ ।

कम्पनीको करिब २१ सय सब एजेन्टहरु नेपालभर फैलिएर रहेका छन् । कम्पनीले आफूलाई पब्लिक कम्पनीमा रुपान्तरण गरिसकेको छ । चुक्ता पुँजीको करिब १५ प्रतिशत सर्वसाधारणमा सेयर बिक्रीगर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । अर्थात सिजी फिन्कोले डेढ करोड रुपैयाँभन्दा बढीको सेयर सर्बसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ ।

यसरी सर्वसाधारणमा सेयर जारी गर्ने हो भने रेमिट्यान्स कम्पनी मध्ये सर्वसाधारणको लगानी भएको पहिलो कम्पनी सिजी फिन्को बन्नेछ ।

चन्द्रगिरी केबलकार
चन्द्रगिरी हिल्स लिमिटेडले ३ बर्षको व्यालेन्सीट तयार भएपछि पब्लिकलाई साधारण सेयर जारी गर्ने जनाएको छ । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले यसअघि नै १० प्रतिशत स्थानीयवासीलाई सेयर दिने घोषणा गरिसकेको छ ।

कम्पनीले कम्तिमा १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । अर्थात चन्द्रागिरीले करिब १० करोड रुपैयाँ बराबरको सेयर सर्बसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु