संभावना भएको उत्पादनमै भारतको भर, ५ महिनामा १६ अर्ब ५५ करोडको आयात



काठमाडौं । नेपालमा उत्पादनको सम्भावना भएर पनि धेरै प्रडक्टहरु विदेशबाट आयात भइरहेको छ ।

नेपाल राष्ट्रबैंकले खर्भरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महिनाको तथ्यांक अनुसार सिमेन्ट, जिउँदो जनावर, चिया, सूर्तीजन्य पदार्थ, तरकारी जस्ता सजिलै उत्पादन हुने प्रडक्ट पनि अर्बौ रुपैयाँ बराबरका सामान आयात भइरहेको छ । यी उत्पादनहरु चालु आबको ५ महिनामा १६ अर्ब ५५ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

पहिलो पाँच महिनामा भारतबाट सिमेन्ट आयात ४१ प्रतिशतले बढेको छ । पाँच महिनामा नै ८ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात भएको देखिन्छ । गत वर्ष सोही अवधीमा ६ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो ।

ठुला आयोजनाले विदेशी सिमेन्ट प्रयोगमा जोड दिनु र क्लिङकर आयातले गर्दा सिमेन्ट आयात बढेको देखिएको उद्योगीहरु बताउँछन् ।

जिउँदो जनावर पनि अत्याधिक मात्रमा भारतबाट नेपाल आयात गरिदैं आएको छ । राष्ट्र बैंकको पहिलो पाँच महिनाको तथ्यांक अनुसार जिउँदो जनावर आयातमा पनि ३७ प्रतिशतले बृद्धि भएको छ । पाँच महिनामा १ अर्ब ५६ करोड १९ लाख रुपैयाँ बराबरको जिउँदो जनावर आयात भएको छ ।

नेपालमा चिया उत्पादनको अथाह सम्भावना भएर पनि भारतकै भरमा नेपाल पर्दै आएको देखिन्छ । चिया आयात पनि गत वर्ष भन्दा १७ प्रतिशतले बढेको छ । यस वर्ष पहिलो पाँच महिनामा ३३ करोड ४ लाख बराबरको चिया आयात भएको छ । गत वर्ष सोही अवधीमा २८ करोड ४ लाख रुपैयाँ बराबरको चिया आयात गरिएको छ ।

सूर्ती जन्य पदार्थको पनि अत्याधिक आयात हुदैं आएको छ । यसवर्ष यो शिर्षकको आयातमा भने केही कमि आएको छ । गत वर्षको ५ महिनामा १ अर्ब १३ करोडको सूर्तीजन्य पदार्थ आयात भएकोमा यसवर्षको सोही समयमा ८९ करोड ३६ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन ११ प्रतिशतले कमी हो ।

भान्साको तरकारी पनि भारतकै भरमा चल्दै आएको देखिन्छ । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा भारतबाट ४ अर्ब ८१ करोड १४ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।


क्लिकमान्डु