सरकारको पनि लगानी भएको कम्पनीले नै सेयरका नाममा ठग्न थाल्यो सर्बसाधारणलाई



काठमाडौं । सरकारको समेत सेयर स्वामित्व भएको बुटवल पावर कम्पनी (बीपीसी) ले साधारण सेयर (आइपीओ) जारी नगर्दै पुन थप सार्वजनिक निस्कासन (एफपिओ) जारी गर्न लागेको छ ।

धितोपत्र बोर्डले एफपिओ जारी गर्न अनुमति दिएपछि कम्पनीले आह्वानपत्र समेत सार्वजनिक गरेको छ ।

बीपीसीले निर्माण गरेको प्युठानको झिमरुक जलविद्युत् आयोजना र स्याङ्जाको आधिखोला जलविद्युत् आयोजना प्रभावितले पनि सेयर पाएका छैनन् । सो आयोजना बनेको समयमा आयोजना प्रभावित स्थानीयलाई सेयर दिने नीतिगत व्यवस्था थिएन ।

२०५९ सालमा माघ १५ गते निजीकरण गर्दा सरकारले आफ्नो स्वामित्वमा रहेको ७५ प्रतिशत सेयर निजी लगानीकर्तालाई बिक्री गरेको थियो । यसरी निजीकरण गरेर बाँकी रहेकोमध्येबाट सरकारले थप १२ प्रतिशत सेयर सर्वसाधारण तथा कर्मचारीलाई बिक्री गरेको थियो । यसरी सेयर बेचेर सो पैसा सरकारी कोषमा जम्मा भएको थियो ।

कुनैपनि कम्पनीले आइपिओ जारी गर्दा सो बिक्रीबाट प्राप्त भएको रकम कम्पनीको कोषमा आउनुपर्छ । तर, बीपीसीको सेयर बिक्रीबाट प्राप्त रकम सरकारले लगेको कारण त्यसलाई आइपिओ मान्न नसकिने विज्ञहरु बताउँछन् ।

‘कम्पनीको प्रवन्धपत्र नियमावलीमा आइपिओ जारी गर्ने व्यवस्था हुन्छ, त्यसमा कति प्रतिशत पब्लिकको र कति प्रतिशत प्रमोटरको सेयर हुने भन्ने प्रष्ट व्यवस्था हुन्छ, आइपिओ बिक्री गरेको पैसा कम्पनीको कोषमा आउँछ, बीपीसीले सेयर बिक्री गरेको पैसा कम्पनीको कोषमा नआएको र कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा पब्लिक र प्रमोटर सेयरको संरचना उल्लेख नभएकोले उसले आइपिओ जारी गरेको मान्न सकिदैन,’ एक सेयर बिश्लेषकले भने ।

धितोपत्र बोर्डले भने स्टक एक्सचेन्जमा सेयर कारोबार भएको आधारमा बीपीसीलाई एफपिओ जारी गर्न अनुमति दिएको बताएको छ ।

आइपिओ जारी नगर्दै एफपिओ जारी गर्न लागेपछि अहिले बीपीसीको स्वामित्वमा रहेका झिमरुकका स्थानीय प्रभावितले सेयर दिनुपर्ने माग राखेका छन् ।

कम्पनीले एफपिओ यही माघ १५ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयरमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ५०१ रुपैयाँका दरले एफपिओ जारी गर्न लागेको हो ।

रेटिङ ऐजेन्सी इक्रा नेपालले बुटवल पावरलाई औसत आर्थिक अवस्था भएको भन्दै ग्रेड थ्रीको हैसियत प्रदान गरेको छ ।

धितोपत्र बोर्डले भने आइपिओ जारी नभएपनि स्टक एक्सचेन्जमा सेयर कारोबार भएको आधारमा बीपीसीलाई एफपिओ जारी गर्न अनुमति दिएको हो

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ५ लाख ७२ हजार रुपैयाँ छ । एफपिओ जारी भएपछि कम्पनीको पूँजी २ अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीमा नेपाल सरकार, सांग्रिला इनर्जी, आइकेन नेपाल, एएस नर्वे, युनाइटेड मिशन टु नेपाल र नेपाल विद्युत् प्राधिकरणको शेयर छ ।

कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले ४० करोड ८१ लाख बराबरको एफपिओ बिक्री गर्ने छ । कम्तिमा १० कित्ता र अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीमा पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, राजिब राजभण्डारी, विजयकृष्ण श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, चिरञ्जिबी चटौत, चण्डीप्रसाद श्रेष्ठ, दिवाकर वैद्य, विजयवहादुर श्रेष्ठ र सञ्जिब राजभण्डारी संचालक छन् ।

आर्थिक वर्ष २०७२/७३ मा ६० करोड रुपैयाँको विजुली बिक्री गरेको कम्पनीले आव २०७६/७७ मा मात्रै ६ करोड बढी ६६ करोड ९८ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ ।

आव २०६८/६९ मा मात्रै सबैभन्दा बढी ४७.६२ प्रतिशत नाफा बितरण गरेको कम्पनीको आव ७०/७१ मा नाफा घटेर १८.१५ प्रतिशत बितरण गरेको थियो । २०७२/७३ को नाफा ३४.४२ प्रतिशत मात्रै रहेको थियो । आर्थिक वर्ष ७३/७४ को भने कुनै पनि विवरण समावेश गरिएको छैन ।

कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड र सह बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छन् ।


क्लिकमान्डु