काबेली करिडोर निर्माण सुस्त, १० बर्षमा ७०% काम सम्पन्न



पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ ।

१० वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा ७० प्रतिशतमात्र काम पूरा भएको छ ।

पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ १० वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

करिडोर निर्माणको जिम्मा पाएका कम्पनीले निर्माण कार्यमा पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कूल ३ अर्ब ५९ करोड रुपैयाँको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।

‘शुरु शुरुमा करिडोर लाइन विस्तार गर्न जग्गामा विवाद भयो’, प्रमुख द्विवेदीले भने, ‘पछिल्लो समयमा जग्गाको विषयमा विवाद त छैन तर निर्माण कम्पनीले आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा समस्या भने आएको हो ।’

करिडोरको प्रसारण लाइन निर्माणको काम भारतीय निर्माण कम्पनी जगुवर एन्ड एस्टर प्रालिले गरिरहेको छ । दोस्रोपटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ ।

‘वैशाखभित्रमा पनि करिडोरको काम सकिने सम्भावना छैन, पछिल्लो समयमा निर्माण कम्पनीले जनशक्ति परिचालन नै गर्न सकेन’, प्रमुख द्विवेदीले भने ।

झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माणको काममा ढिला गरिँदा ३ जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया शुरु भएको ३ वर्ष ढिलो गरी दुई वटा भारतीय निर्माण कम्पनीलाई प्रसारण लाइन निर्माणको जिम्मा दिइएको हो ।

करिडोरका ४ वटा सवस्टेसन निर्माणको काम एक वर्षअघिनै पूरा भएको छ । झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिमस्थित थापाटार र अमरपुरको दुबीचौरमा सवस्टेसन निर्माणको काम सम्पन्न भएको हो । ९० किलोमिटर प्रसारणलाई विस्तारका लागि २५९ वटा टावर राख्नुपर्ने हुन्छ । हालसमम्म १२२ वटा टावर राखिएको छ ।

अहिलेसम्म झापाको दमकदेखि इलामसम्मको ९४ वटा टावर र पाँचथरको थापाटारदेखि अमरपुरको दुबीचौरसम्म २८ वटा टावर राख्ने काम सम्पन्न भएको हो । इलामको गोदकदेखि झापासम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कूल ३ अर्ब ५९ करोड रुपैयाँको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा कामअघि बढाइएको हो । निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ ।

विश्व बैंकको सहयोगमा विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेर अघि सारेको करिडरको काम शुरुवाती समय देखिने सुस्त भएकाले जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको जनाएको छ । रासस


क्लिकमान्डु