स्याटलाईट सिटी: कित्ताकाट रोक्दा जग्गाधनी अन्योलमा, परामर्शदाता छनोट अर्को हप्ता



काठमाडौं । सरकारले उपत्यकामा बनाउन लागेको स्याटलाईट सिटीको लागि परामर्शदाता कम्पनी छनोट गर्ने भएको छ । स्याटलाइट शहर कसरी बनाउन सकिन्छ भन्ने अध्ययन गर्नका लागि परामर्शदाता छनोट गर्न लागिएको हो ।

स्थानीय जग्गाधनीहरु भने आफ्नो जग्गाको कित्ताकाट रोकिदा अन्योलमा परेका छन् । काँठ क्षेत्रमा रहेका जग्गाधनी आफ्नो अत्यावस्यक समस्या समाधान गर्न जग्गाको किनबेचमा समस्या आउँदा निकै समस्यामा परेका छन् ।

सरकारले उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंका ४ स्थानमा स्याटलाईट शहर बनाउन लागिरहेको छ । त्यसका लागि सरकारले १ लाख ३० हजार रोपनी जग्गा माथि कित्ताकाट रोक लगाईसकेको छ ।

४ वटा नयाँ शहरमध्ये ३ स्थानका लागि परामर्शदाता छनोट गर्न लागिएको उपत्यका विकास प्राधिकारणका प्रवक्ता केशव न्यौपाने जानकारी दिए ।

‘परामर्शदाता छनोटको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ , अर्को हप्ता भित्रमा परामर्शदाता कम्पनीसँग सम्झौता गरिने छ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

काठमाडौं आग्नेय (पूर्व-दक्षिण) काठमाडौं उपत्यका भित्र भक्तपुर जिल्लाको नयाँ शहर विस्तार क्षेत्रको १० हजार रोपनी क्षेत्र । काठमाडौं नैऋत्य (दक्षिण-पश्चिम) ललितपुर जिल्लाको नयाँ शहर विस्तार क्षेत्रको १० हजार रोपनी क्षेत्र र काठमाडौं उत्तर काठमाडौं जिल्लाको नयाँ हरित शहर विस्तार क्षेत्रको १० हजार रोपनी क्षेत्रमा निर्माण गर्न लागिएको स्याटलाई शहरका लागि परामर्शदाता छनोट गर्न लागिएको हो ।

काठमाडौं ईसान (पूर्व-उत्तर) नयाँ शहर विस्तार क्षेत्रको १ लाख रोपनी क्षेत्रमा बन्ने नयाँ शहरका लागि केहि समयभित्रमा परामर्शदाता छनोट गरिने उपत्यका विकास प्राधिकारणका शहरी योजना विज्ञ भागवतभक्त खोखाली बताउँछन् ।

‘काठमाडौं ईसानका लागि आएका प्रस्तावहरुको अध्ययन कार्य हुँदैछ, तीमध्येमा उत्कृष्ट प्रस्तावबाट परामर्शदाता कम्पनी छनोट गरिने छ,’ खोखालीले भने ।


क्लिकमान्डु