नारायणगढ-मुग्लिन सडक: दिउँसो बन्द गरेर निर्माण थाल्ने, हेर्नुस् ५ फोटोमा अहिलेको हाल



चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ-मुग्लिन सडकखण्डको कामको प्रगति नभएपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ ।

गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ ।

गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए ।

यसअघि परीक्षणका रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए ।

‘रातिमा रोक्दा शुन्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शुन्य दशमलव २७ प्रतिशत काम भएको थियो ।’ यादबले भने ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताए ।

बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेश गर्न पनि भनेको छ ।

सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ ।


क्लिकमान्डु