तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै




पाँचथर । सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ ।

आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अधि बढाइएको छ भने मुख्य पाइपलाइनको कामको हालसम्म ४५ प्रतिशत सकिएको छ । दोस्रो चरणको वितरण लाइनको २९ प्रतिशत काम सम्पन भएको निर्माण कम्पनीले जनाएको छ ।

आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले आवश्यक जनशक्ति, कच्चापदार्थ, र उपकरणको प्रयोग एकै साथ गरिरहेको छ । विसं २०७२ देखि शुरुवात भएको आयोजनामा विविध कारणले ११ महिनासम्म आयोजनाको काम स्थगित भएको थियो ।

सम्बधित निकाय र स्थानीयको दबाब बढेपछि निर्माण कम्पनीले ढिलै भए पनि आयोजनाको कामलाई तीव्रता दिएको थियो । तर पछि मुहानको विवाद मिलेपछि लोरिपा दोभानबाट तमोर खोलाको लुमुघाटमा मुहान सारेपछि आयोजनाले तीव्रता पाएको हो ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङका अनुसार खानेपानी उपभोक्ता समिति, प्राविधिक र निर्माण कम्पनीका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भइसकेपछि आफूहरुले रेखदेख गर्दै आएको हुँदा आयोजनाको कार्यले गति लिएको उनले बताए ।

गाउँपालिकामा खानेपानी समस्या भोगिरहेका स्थानीयको पीडामा मलमपट्टि लगाउनका लागि भएपनि समयमै आयोजनाको कामलाई पूरा गरेरै छोड्ने प्रेरा स्वामीनारायण जेभी, मोरङका निर्माण व्यवसायी सन्तोष बस्नेतले बताए ।

निर्माण कम्पनीले तमोर नदीमा पानी जम्मा गर्ने इनार निर्माण गर्दै आएको छ । आयोजनाका ११ वटा आरभिटीमध्ये बाँकी रहेका चारवटा आरभिटीको काम गर्दै आएको छ । वितरण लाइनको २९ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले बताएको छ । रासस


क्लिकमान्डु