माटो परिक्षणमै सिमित न्यू खिम्ती सवस्टेशन



 

काठमाडौं । माटो परिक्षणमा नै लामो समय लागेका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् जोड्ने न्यू खिम्ती सवस्टेशनको काम सुरु हुन सकेको छैन ।

आगामी १५ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको भएपनि हालसम्म सवस्टेशनको काम माटो परिक्षणमा नै अल्झिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रसारण लाइन निर्माण पचास प्रतिशत सकिएको सन्दर्भमा सवस्टेशनको काम सुरु हुन नसक्दा समस्या आउने हो कि भन्ने आशंका बढेर गएको छ ।

लामो समयसम्म माटो परिक्षणमा नै लगाइएपछि आयोजनाले आगामी मंसिरमा विद्युत् उत्पादन गर्न सक्छ त भन्ने प्रश्न समेत जन्मिएको छ । केही समय पहिले ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले सवस्टेशनको काम तत्काल सुरु गरिने प्रतिवद्धता जनाएपनि हालसम्म देखिने गरी प्रगति नभएको बताइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् लगेर जोडिने रामेछापको फुलासीस्थित न्यू खिम्ती सबस्टेसन निर्माणले गति लिन नसकेको र हालसम्म माटो परिक्षणमा नै सिमित हुन पुगेको छ ।

सवस्टेशन निर्माणको जिम्मा प्राधिकरणको हो । तर प्राधिकरणले परिचालन गरेको परामर्शदाता र ठेकेदारले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

लामो समयसम्म मुआब्जा र जग्गा प्राप्तिको विवादमा फसेको सवस्टेशनको काम सुरु गराउन जुन स्तरको तत्परता आवश्यक थियो, सो भने हुन नसकेको बताइएको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने बताइएको छ ।

कुल २२७ टावर मध्ये हालसम्म १०० टावर निर्माण सम्पन्न भएको छ । १४ किलोमिटर प्रसारण लाइन तानिसकिएको छ । कुल १२० वटा टावर निर्माण कार्य जारी छ ।

कुल २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।


क्लिकमान्डु