निर्णय सच्याउन माग गर्दै भक्तपुरमा आन्दोलन



भक्तपुर । सरकारले  ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरिएको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बताए ।

जिससमा भक्तपुरको बैठकमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र नागरिक समाजसहित सरोकारवालाहरूको छलफलले आजैदेखि आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको हो ।

मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यलय र बोडेस्थित कृषि विकाश बैंकको तालिम केन्द्रको हल संसद भवनको उपयुक्त भन्दै सरकारले तोकेको समितिले सिफारिश गरेको थियो । सरकारले बुधबार प्रदेश नं.३ को  राजधानी हेटौडालाई तोकेको थियो ।

बिहीबार दिउँसोदेखि सानोठिमीमा सहभागी भएर पहिलो चरणको आन्दोलन गरिने र त्यसपछि अन्य अन्दोलनका घोषणा गर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए ।

‘सरकारले अदूरदर्शी निर्णय गरेको छ, दिउँसोसम्म भक्तपुरलाई नै ३ नं. प्रदेश बनाउने निर्णय परिवर्तन भएको थियो, तर साँझ उपप्रधानमन्त्री कमल थापाको एकलौटी निर्णयअनुसार ३ नम्बर प्रदेशको राजधानी घोषणा गरेको जानकारी पाइयो, सरकारसँग तत्काल यो निर्णय सच्याएर भक्तपुरलाई नै प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलनको घोषणा गरिएको छ,’ नेता बस्नेतले भने ।

प्रदेश सांसदहरू राजेन्द्रमान श्रेष्ठ, हरिशरण लामिछाने, सरस्वती वाटी, जिल्लाका विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायतले पनि सरकारको निर्णय स्वीकार्य नभएको भन्दै सच्याउन माग गरे ।


क्लिकमान्डु