काठमाडौं तराई द्रुतमार्गमा थप ५ वटा क्याम्प बन्ने



काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गमा नेपाली सेनाले थप ५ वटा वेस क्याम्प बनाउने भएको छ । सेनाले द्रुतमार्गमा निर्माण गरिने क्षेत्रमा प्राविधिक तथा निर्माण सामाग्रीको सहज आपूर्तीका लागि वेस क्याम्प बनाउन लागेको हो ।

द्रुतमार्ग आयोजनाका उप निर्देशक तथा सेनाका सहायक रथी सूर्यप्रसाद खनालले सेनाको उपस्थिति नभई निर्माण कार्य सम्पन्न गर्न कठिन हुने स्थानमा वेस क्याम्प निर्माण गरिन लागेको जानकारी दिए ।

‘द्रुतमार्ग निर्माण गरिने केहि स्थान दुर्गम तथा विकट पनि छन्, ती क्षेत्रमा आवश्यक वस्तुको जोहो गर्नका लागि थप ५ वटा क्याम्पको आवश्यक पर्छ,’ खनालले भने ।

सेनाले यसअघि द्रुतमार्गको ५ स्थानमा वेस क्याम्प निर्माण गरिसकेको छ । त्यही वेस क्याम्पको मताहतमा रहेर रुख कटान, पहिरो सम्याउने, खाल्टो पुर्ने, पर्खाल लगाउनेलगायतको काम गरिरहेको छ ।

सरकारले ४ बर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको हो । एसियन स्ट्याण्डरको आधारमा बनाउन लागिएको सडकका लागि सेनासँग प्राविधिक यन्त्र तथा दक्ष जनशक्तिको अभाव छ ।

सो अभाव पूर्ति गर्नका लागि सेनाले स्वदेशी तथा विदेशी निर्माण व्यवसायी तथा उनीहरुको यन्त्र भाडामा लिएर प्रयोग गर्ने बताएको छ । यी सम्पूर्ण कार्यको रेखदेखको जिम्मा सेनाले गर्नु पर्ने भएकाले पनि थप ५ वटा वेस क्याम्प बनाउन आवश्यक भएको खनाल बताउँछन् ।

नयाँ बन्ने ५ वटा वेस क्याम्पहरु सानो खोना, महादेव टार, खिमन , राज दरवार (वकैया नदी) र निजगढमा निर्माण गरिने छ ।

साथै, नयाँ बन्ने वेस क्याम्पमध्येमा खिमन वेस क्याम्पलाई मुख्य साइड कार्यालयको रुपमा स्थापना गरिने छ । आगामी वैशाख मसान्तसम्म नयाँ वेस क्याम निर्माणको काम सक्ने खनालको भनाई छ ।

द्रुतमार्गमा निर्माण भईसकेका वेस क्याम्प

सेनाले हालसम्म ५ स्थानमा वेस क्याम्प निर्माण गरिसकेको छ । नखु वेसी, कुलेखानी दोभान, वेन डाडा, बुधुने र वागदेवका वेस क्याम्पको निर्माण कार्य २०७३ पुस २१ गतेसम्पन्न भईसकेको खनालले बताए ।

ती स्थानका क्याम्पले मात्र सम्पूर्ण क्षेत्र ओगट्न नसक्ने भएकाले थप क्याम्प आवश्यक देखिएको उनी बताउँछन् ।


क्लिकमान्डु