एमाले अध्यक्ष ‌ओलीले भने- अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छ



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् ।

आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ कहाँ अस्थायी राजधानी तोक्ने, कहाँ कहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताए ।

उनले प्रदेश प्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट गरे ।

निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उनले दोहोर्याए। उनले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको दाबी समेत गरे ।

उनले परीक्षणको प्रतिवेदनबाट आफ्नो स्वास्थ्य ठीक रहेको पाइएको र बैंककमा रहँदा कुनै अन्य भेटघाट नभएको जानकारी दिए ।

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैंकक गएका थिए ।


क्लिकमान्डु