निर्माण हुन्छन् जहाज उड्दैनन्, यसैवर्ष थपिदैं ७ विमानस्थल



काठमाडौं ।
देशभर रहेका ५० विमानस्थल मध्ये ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । तर नागरिक उड्डयन प्राधिकरण भने यसै आर्थिक वर्षमा थप ७ वटा आन्तरिक विमानस्थल निर्माणकार्य तिव्रता दिइरहेको छ ।

यस वर्ष ७ वटा थपिएपछि नेपालमा आन्तरिक विमानस्थलको संख्या ५७ पुग्ने छ । अर्बौ रकम खर्चिएर विमानस्थल बनाएपनि १८ वटा विमानस्थलमा हालसम्म एउटा पनि जहाज उडान गराइएको छैन् । जहाँ स्थानीयलाई खेल्ने चौरको रुपमा परिणत भएको छ । विमानस्थल निर्माणका राजनैतिक नेतृत्व देखि दवाव दिने गरिएको छ । कुनै अध्ययनै विना विमानस्थल निर्माण गर्ने र कालन्तरमा चौरमा परिणत हुने क्रमपछिल्लो समय बढ्दो अवस्थामा रहेको छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७३\७४ मा मात्र ६ वटा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ । यो संगै देशभर निर्माण सम्पन्न भइसकेका आन्तरिक विमानस्थलमध्ये धावनमार्ग कालोपत्रे गरिएका विमानस्थलको संख्या २९ पुगेको छ । धावन मार्ग कालोपत्रे गरिएको दर्जनौ विमानस्थलमा पनि चार्टर मात्रै हुने गरेको छ । जहाँ नियमित उडाननै हुन सकेको छैन् ।
हवाई सुरक्षा अभिवृद्धि, पूर्वाधार विकास तथा स्तरोन्नति गर्ने क्रममा विभिन्न आन्तरिक विमानस्थलमा सुधारका कार्य भइरहेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
आव ०७३\७४ मा कालोपत्रे भएका विमानस्थल मा मनमाया राई विमानस्थल भोजपुर, सुकेटार विमानस्थल ताप्लेजुङ, चौरजहारी रुकुम, डोल्पा विमानस्थल डोल्पा र रारा विमानस्थल मुगु गरी ६ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको हो ।

चालू आव ०७४\७५ मा कालोपत्रे भइरहेका विमानस्थल लामिडाँडा विमानस्थल खोटाङ, थामखर्क विमानस्थल खोटाङ, राजविराज विमानस्थल इटहरी, डोटी विमानस्थल डोटी, पाटन (बैतडी) विमानस्थल बैतडी, साँफेबगर विमानस्थल अछाम रहेको छ ।

प्राधिकरणका अनुसार अहिले देशभर ४९ वटा आन्तरिक विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । एक अन्तर्राष्ट्रियसहित विमानस्थलको कुल संख्या भने ५० छ । तर, त्यसमध्ये ३२ वटा विमानस्थलमा मात्र नियमित हवाईसेवा सञ्चालन भइरहेको छ । सञ्चालनमा रहेका ३२ मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विराटनगर, नेपालगन्ज, गौतम बुद्ध विमानस्थल भैरहवा र पोखरा विमानस्थल ‘हब एयरपोर्ट’ हुन् । यी विमानस्थलबाट देशका विभिन्न गन्तव्यमा उडान हुने गर्छ ।

प्राधिकरणले आन्तरिक विमानस्थलहरुको क्षमता अभिवृद्धि तथा स्तरोन्नति गर्न विभिन्न स्थानमा जग्गा अधिग्रहणकार्य जारी राखेको महानिर्देशक गौतमले जानकारी दिए । उनका अनुसार रारा, लुक्ला, धनगढी, चन्द्रगढी, सिमिकोटलगायत विमानस्थलमा जग्गा अधिग्रहणकार्य अगाडि बढिसकेको छ ।


क्लिकमान्डु