चुनावी खर्च धेरै गर्नेमा गगन थापालार्इ ईश्वर पोखरेलले जिते



काठमाडौं । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए ।

यही माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्यका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ । खर्च विवरण अधिकांश विजय हुने उम्मेदवारले बुझाएका छन् ।

क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालका अनुसार काठमाडौं क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार रुपैयाँ, क्षेत्र नं ५ बाट विजय भएका एमालेका महासचिव ईश्वर पोखरेलले २४ लाख १४ हजार ७८ रुपैयाँ, क्षेत्र नं १ बाट विजय भएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १७ लाख ३० हजार ५०० रुपैयाँ, क्षेत्र नं ४ बाट उम्मेदवार भएका काँग्रेसका युवा नेता गगन थापाले २४ लाख १३ हजार १०० रुपैयाँ खर्च विवरण बुझाएका छन् ।

काठमाडौँ क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले २२ लाख ५६ हजार रुपैयाँ र क्षेत्र नं ९ बाट विजय भएका एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ १२ लाख ७८ हजार रुपैयाँ खर्च विवरण बुझाएका हुन् ।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार भएका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २१४ रुपैयाँ र काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार भएका नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले १६ लाख ४१ हजार रुपैयाँ खर्च बिबरण बुझाएका छन् ।

क्षेत्रीय निर्वाचन अधिकारी दाहालले निर्वाचन आयोगमा पनि निर्वाचन खर्च विवरण बुझाउने व्यवस्था भएपछि आयोगमा पनि बुझाएको बताए।


क्लिकमाण्डू