पत्ताल भूमेश्वर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास



बैतडी । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ ।

सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् । यहाँ रहेको नेपालकै गहिरो पबल भूमेश्वर गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी भजन विष्टको भनाइ रहेको छ ।

उत्तरपट्टि लहरै मिलेको अपि सैपाल हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिने पत्ताल भूमेश्वरमा लालीगुराँसको घना जंगलसमेत रहेकाले फागुन–चैतमा यो क्षेत्र राताम्मे हुन्छ । वैशाखदेखि असारसम्म रुखबाट ताजै काफल टिपेर खान मिल्ने यो क्षेत्रलाई उजिल्याउन ल्याउन सकिए आन्तरिक र बाह्य पर्यटकको एक आकर्षक गन्तव्य बन्ने  स्थानीयवासी कपिल केसीको भनाइ छ ।

सीमावर्ती झुलाघाट नाकाबाट यातायात सञ्चालन गरिनुपर्छ । पाटन विमानस्थललाई सञ्चालनमा ल्याउन सकिए पर्यटकलाई अझ सहज हुन्छ । यसै वरपर ग्वाल्लेक केदार, रौलेश्वर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, सिगास धुरा, दोगडा धाम, मेलौली भगवतीलगायतका पर्यटकीय गन्तव्यस्थल पनि छन् । शान्त वातावरणमा कोइली, न्याउली, कुक्कुजस्ता चराको आवाज सुनेर शहरको कोलाहलमा बस्ने जो कोही पनि रमाउन सक्छन् । प्राकृतिक सुन्दरतासँगै धार्मिक महत्व बोकेको यस ठाउँमा पाइला टेक्ने हरेकले अध्यात्मका साथै र प्रकृतिको रसस्वादन गर्न सक्ने स्थानीय युवक राजेन्द्र विष्ट बताउँछन्।

पत्ताल भूमेश्वर ४०० हेक्टर वन क्षेत्रमा फैलिएर रहेको छ । बैतडी सदरमुकामबाट १८ किमी पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पत्ताल भूमेश्वर पुगिन्छ ।

करिब ३०० वर्ष पहिलादेखि पत्ताल भूमेश्वरमा देवीदेवताको महिमा शुरु भएको स्थानीय बूढापाका बताउँछन् । हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव शिव भगवान् आफ्नी अर्धाङ्गिनी पार्वतीसँगको बिछोडका बेला संसारका विभिन्न ठाउँ घुम्दै पत्ताल भूमेश्वरमा पनि पाइला टेकेका भन्ने जनविश्वास रहेको पत्ताल भूमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए ।

‘महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किंवदन्ति छ,’ उनले भने ।

पत्ताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । पत्ताल भूमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ । धुम्दै आएका शिव थाकेपछि पत्ताल भूमेश्वरमा विश्राम लिँदा त्रिशूल गाडेको र त्यो ठाउँ गुफा भएको भनिन्छ ।

परापूर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफैँ दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेटिएको अर्को भनाइ पनि यहाँ प्रचलित छ । सोही स्थानमा पछि महादेवको मन्दिर बनाइएको हो ।

मन्दिर र तलाउको चारैतर्फ चारवटा गुफा भएको यस ठाउँमा शिव भगवान्ले लामो समय विश्राम लिएको विश्वास रहेकाले यो भूमि पवित्र मानिन्छ र यहाँ दर्शन गर्न आउने भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

यस पत्ताल भूमेश्वरमा महादेव भगवान्को मन्दिर रहेको छ । मन्दिरको छेउमा तलाउ पनि छ । यस क्षेत्रको मुख्य हेर्न लायक ठाउँ पत्ताल भूमेश्वर गुफा हो । पत्ताल भूमेश्वरको चारैतिर डाँडाकाँडा र मनमोहक दृश्य हेर्न पाइन्छ ।  हरेक पर्वमा पूजाआजा गरिने पत्ताल भूमेश्वर मन्दिरमा महाशिवरात्रि र रामनवमीमा ठूलो मेला लाग्ने गर्छ । विवाह बन्धनमा बाँधिनेहरु पनि यहाँ आउँछन् ।

स्थानीय मन्धिरे नामका महात्मा दुई दशक अगाडिदेखि पत्ताल भूमेश्वर मन्दिरमा बस्दै आएका थिए र उनकै पहलमा शिव मन्दिर निर्माण गरिएको हो । उनको एक दशक अगाडि मृत्यु भएपछि पत्ताल भूमेश्वर गुफा, तलाउ र मन्दिरको रेखदेख गर्ने कोही भएन ।

‘पर्यटन भित्र्याउन सरकारी तथा गैरसरकारी संघसंस्था, व्यक्ति तथा समाजबाट सहयोगको याचना गरिरहेका छौं,’ समितिका अध्यक्ष विष्टले भने, ‘यसको प्रचारप्रसार गर्न सकिए विश्व सम्पदा सूचीमा पर्न सक्छ ।’


क्लिकमान्डु