प्रचण्डको प्रतिनिधिसभा चुनावी खर्च नौ लाख ९४ हजार रुपैयाँ मात्रै



चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

उनले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ मार्फत चुनावी खर्च विवरण पेश गरेको  जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने नौ लाख ३९ हजार ९४० रुपैयाँ पेश भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिए । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने नियम छ । चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६७३ रुपैयाँ खर्च भएको भन्दै विवरण पेश गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च १६ लाख २९ हजार १७० रुपैयाँ छ ।

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको चुनावी खर्च १४ लाख ३९ हजार ८०० रुपैयाँ छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता शेषनाथ अधिकारीले १३ लाख ९३ हजार रुपैयाँको विवरण बुझाएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।


क्लिकमाण्डू