लड्डु र चाकुको व्यापार असनदेखि सपिङ महलसम्म



काठमाडौं । आज मकर संक्रन्ती । मकर संक्रान्तीलाई माघे संक्रान्ती भन्ने गरिन्छ, यसलाई थारुजातीले माघी पर्वको रुपमा मनाउने गरेका छन् ।

माघे संक्रान्तीको दिन विभिन्न पवित्र नदिहरुमा गई स्नानगरी र पुजाआजा पश्चात घिउ, चाकु, तिलको लड्डु र कन्दमुल खाएर जाडोबाट बच्न सफल भएको भन्दै उत्सव मनाउने गरिन्छ ।

यस पर्बको छेकामा असन बजारमा चाकुको व्यापार भैरहेको देख्न सकिन्छ । अरु समय सामान्य तरकारी व्यापार गरेर बसेका मानिसहरु माघे संक्रान्तीको २ दिन अघिदेखि चाकु र तरुलको व्यापारमा लाग्ने गर्छन् ।

उपत्यका भित्र विशेष गरी टोखामा बनेको चाकु निकै प्रशिद्ध मानिन्छ । असनका बजारमा बिभिन्न किसिमका चाकु पाइन्छ । सादा, नरिवल, बदाम तथा काजुका चाकुहरु पाउँन सकिन्छ । फरक मसलाको चाकु फरक फरक मूल्यमा विक्री हुने गर्छ ।

सादा चाकु ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा विक्री हुने गरेको छ । यस्तै नरिवल, बदाम तथा काजु मिसाएको मसला चाकु भने ६० रुपैयाँदेखि २ सय रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।

माघे संक्रान्तीको दिन चाकुसँगै तिलको लड्डु पनि खाने चलन रहेको छ । असनका बजारहरुमा चाकु मिसायर बनाएको तिलको लड्डु २०० ग्रामको ६० रुपैयाँ रहेको छ ।

१५ वर्षदेखि असनमा तरकारी व्यापार गर्दै बसेकी सुनीता ठकुरी २ दिन यता चाकु र तिलको लड्डु व्यापार गर्न बसेकी छन् । उनी भन्छिन् ‘ आजभोलि त व्यापार नै छैन पहिला व्यापारी कमथे ग्राहक बढी अहिले ग्राहक कम भए व्यापारी बढी ।’

उनी तिलको लड्डु किलोको ३ सय रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्ममा विक्री गर्ने गर्छिन् ।

यस्तै असनमै चाकु र तिलको लड्डु व्यापार गर्न बसेका रोहन ठकुरी भने असनमा चाडपर्व बाहेक अन्य समयमा विक्री गर्न सामान राख्न नदिने भएकोले खासै व्यापार नभएको बताउछन् ।

‘अघिल्लो वर्ष माघे संक्रान्तीको अवसरमा प्रतिदिन ३० देखि ४० हजार रुपैयाँसम्मको व्यापार गरेको थिए, यस बर्ष प्रतिदिन ३० हजार रुपैयाँसम्मको व्यापार पनि भएन ।’ ठकुरीले सुनाए ।

उनले चाकुहरु २ सय ग्रामको ५० रुपैयाँ, २ सय ५० ग्रामको ६० रुपैयाँ र ५ सय ग्रामको १ सय रुपैयाँसम्ममा व्यापार गर्ने गरेका छन् ।

यस्तै असन बजारमा केही समयअघि च्याउ व्यापार गर्ने गरेका लक्ष्मणप्रसाद शाही २ दिन यता चाकु र तिलको लड्डु व्यापारका लागि बसेका छन् । उनले चाकु पाउको ३० रुपैयाँदेखि किलोको १४० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।

यस्तै तिलको लड्डु भने किलोकै २ सय ३० रुपैयाँसम्मा विक्री हुने गरेको उनी बताउँछन् ।

‘माघे संक्रान्तीको लागि २ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याइन्छ । हेर्नुस् व्यापार नै छैन । हिजो बल्ल ७० हजार रुपैयाँको व्यापार गरे ।’ शाहीले भने ।

त्रिपुरेश्वरको भाटभटिनी सुपर मार्केट चाकु ४० रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा विक्री भैरहेको छ ।

यस्तै कालो तिलको लड्डु ८५ रुपैयाँदेखि १ सय ७० रुपैयाँसम्ममा विक्री भैरहेको भाटभटीनीकी कर्मचारी निशा थापाले बताइन् । सेतो तिलको लड्डु भने ७५ रुपैयाँदेखि १ सय ५० रुपैयाँ प्याकेटमा विक्री भैरहेको छ ।


क्लिकमान्डु