नेपाल टेलिकमले शेयरधनीहरुलाई ५५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ५५ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ ।

कम्पनीको आईतवार बसेको दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रति शेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

शेयरधनीहरुलाई लाभांश रकम आगामी माघ २ गते देखि उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएको छ ।

सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको कम्पनीले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७४/७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले प्रतिबेदन पेश गर्दै गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गण्ुाात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी यसका लागि आवश्यक तयारी कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कायम राख्न कम्पनी सफल भएको र गत आ.व.को तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहक बनाउन सफल भएको जानकारी दिएको छ ।


क्लिकमान्डु