पावर सेन्टरमै घट्यो विजुली उत्पादन, कुलेखानी र भारतको आयातले धान्ला माग ?



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पावर सेन्टरको रुपमा चर्चा गरेको ३ ठूला जलविद्युत् आयोजनाको उत्पादन घटेर न्यून बिन्दुमा आइपुगेको छ ।

प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेको १४४ मेगावाटको कालीगण्डकी ए आयोजनाले ५० प्रतिशत कम क्षमतामा मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

सो आयोजनाले अहिले केवल ७० मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको प्राधिकरणको भार प्रेषण केन्द्रले जानकारी दिएको छ ।

अर्को ठूलो आयोजनाको रुपमा रहेको ७० मेगावाट क्षमताको मर्स्याङदी जलविद्युत् आयोजनाले मात्रै ३८ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

पावर प्रोजेक्ट भनिएको मध्यमर्स्याङदी आयोजनाले मात्रै ३५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाको क्षमता ६९ मेगावाट रहेको छ ।

यस्तै कुल २१ मेगावाट क्षमताको त्रिशूली आयोजनाले मात्रै १२ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

भारप्रेषण केन्द्रकाअनुसार गत वर्षको तुलनमा काठमाडौंमा विद्युत् माग २० मेगावाटले वृद्धि भएर ३३५ मेगावाट पुगेको छ ।

गत वर्षको हिउँदमा काठमाडौंको विद्युत् माग ३१५ मेगावाट मात्रै थियो । निजी प्रवद्र्धकले सञ्चालन गरिरहेका अधिकाशं आयोजनाको उत्पादन क्षमता ३५ प्रतिशतको आसपासमा झरेको छ ।

हाल भारतबाट ३७० मेगावाट र कुलेखानीका २ आयोजनाबाट ९२ मेगावाट बिद्युत् उत्पादन भइरहेको छ ।


क्लिकमान्डु