आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्छ- उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अवको एजेन्डा आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफ कमर्सको चेम्वर दिवस २०७४ तथा ६७ औं वार्षिक साधारण सभाको बिहीबार उदघाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकाल अन्त्य भई मुलुकमा शान्ति स्थापना भएकाले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राखे ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनुपर्ने पनि उल्लेख गरे । यसका लागि सरकारले निर्यात बृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने परम्परा थाल्नु पर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्थापनाकालदेखि नै निजी क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्दै संस्थाले सरकार र निजी क्षेत्रबीच सेतुको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए ।

चेम्बर मुलुकको विद्यमान संघीय संरचना अनुरुप संस्थागत स्वरुपमा विस्तार हुन गइरहेको जानकारी दिंदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बरलाई पुर्याउने अभियानको शुरुवात यसै ६७ औं वार्षिक साधारणसभामार्फत भएको जानकारी दिए ।

उनले कालोबजारी ऐन २०३२ लाई अन्य ऐन जस्तै वर्तमान खुला अर्थतन्त्रको परिवेश तथा आवश्यक्ताअनुरुप परिमार्जन एवं परिस्कृत गर्नु पर्ने माग गरे ।

सो अवसरमा लाइफ टाइम एचीभमेन्ट अवार्डबाट गशेशभक्त शाख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो ।

साथै नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा वढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान पुर्याएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरियो ।

चेम्वरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पुर्याएका नेपाल निर्जीवन विमा व्यवसायी संघका अध्यक्ष तथा चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य, मनाग एयर प्रालिका अध्यक्ष सतिश प्रसाद प्रधान, भक्तपुर ईंटा तथा टायल उद्योग संघका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा संघका माता सपना श्रेष्ठ, चेम्वर कार्यसमिति सदस्यहरु सुरेन्द्रकुमार श्रेष्ठ, सुवास चन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार संघका महासचिव संदीपकुमार अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठलाई सम्मान गरियो ।

चेम्वरबाट तेश्रो मुलुकतर्फ जारी गरिएको उत्पत्तिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँंच जना कार्गाे एजेन्ट तथा निकासीकर्ताहरुलाई पनि सम्मान गरियो ।

हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छ भने ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।


क्लिकमान्डु