देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न ओलीको आह्वान



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश दिँदै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ, नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन्,’ उनले सन्देशमा भनेका छन् ।

अध्यक्ष ओलीले पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको उल्लेख पनि गरेका छन् । आज मनाइने एकता दिवसका लागि सरकारले राष्ट्रिय बिदा दिएको छ । रासस


क्लिकमान्डु