सामुदायिक संस्था नै विद्युत् चोरीमा संलग्न, प्रहरी र प्राधिकरण एक्सनमा



काठमाडौं । समुदायमा विद्युत् सेवा पुर्याउने लक्ष्यका साथ सरकारले सामुदायिक विद्युतीकरण कार्यक्रम अगाडि बढायो । तर सामाजिक संस्था नै विद्युत् चोरीमा संलग्न रहेको पाइएपछि त्यसको मर्यादा र पेशागत दायित्वमा समेत प्रश्न चिन्ह लागेको छ ।

देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युत् पुर्याउने जिम्मेवारी लिएका सामुदायिक वितरक संस्था पछिल्लो समय चोरीमा संलग्न हुन थालेको तथ्य प्रहरी र नेपाल विद्युत् प्राधिकरणले पत्ता लगाएको हो ।

सामुदायिक संस्थाले प्राधिकरणको मिटर बिगारेर सोझै लाइन तानेर चोरी गर्ने गरेको तथ्य पत्ता लागेको हो ।

प्राधिकरणले चोरी नियन्त्रण गर्ने क्रममा उक्त तथ्य फेला परेको हो ।

बारा कलैयाको दुर्गा भगवती सामुदायिक विद्युत् वितरण संस्था चोरीमा संलग्न रहेको भन्दै प्रहरी र प्राधिकरणको विशेष टोलीले पक्राउ गरेपछि उक्त तथ्य प्रकाशमा आएको हो ।

हेटौडा क्षेत्रीय कार्यालय र कलैया वितरण केन्द्र तथा सुरक्षाकर्मीले यही पुस २५ गते चोरीका सामग्री तथा विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।

प्राधिकरणले विद्युत् दिन राखेको थोक मिटरको तार छुटाएर उक्त संस्थाले आफ्ना ग्राहकलाई वितरण गरेको केन्द्र प्रमुख धुपेन्द्र झाले जानकारी दिए ।

महसुल नउठेको र एक्कासी चुहावट बढेपछि प्राधिकरणले सुक्षम रुपमा अध्ययन गर्दा उक्त तथ्य प्रकाशमा आएको हो ।

बाराको सुवर्ण गाउँपालिका कबहीगोठ टोलमा उक्त संस्थाले सय केभिए ट्रान्सफर्मरको मुख्य मिटरलाई बाइपास गरी चोरी गरेको थियो । प्राधिकरण टोलीले उक्त मिटर खोलेर ट्रान्सफर्मरबाट आपूर्ति कटौती गरेको छ ।

देशका ५२ जिल्लामा २७० भन्दा बढी सामुदायिक संस्थाले दुर्गम क्षेत्रमा विद्युत् वितरण गर्ने गरेका छन् । सामुदायिक संस्था नै चोरीमा लागेपछि प्राधिकरणले पछिल्लो समयमा त्यस्ता संस्थाको निगरानी समेत बढाएको छ ।


क्लिकमान्डु