छोड्नुस् निजी सिमेन्टको मूल्यको कुरा, सरकारीले नै बढाए बोरामा डेढ सय




काठमाडौं । पछिल्ला दिनमा ब्यवसायीले सिमेन्टको मूल्य अत्याधिक बढाएको आरोप लागिरहेको बेलामा सरकारी उद्योगले निजी उद्योगकोभन्दा बढी मूल्य बढाएको तथ्य फेला परेको छ ।

निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्य प्रतिबोरा बढीमा १३० रुपैयाँ मात्रै मूल्य बृद्धि भएको समयमा सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले प्रतिबोरा १५० रुपैयाँ मूल्य बढाएको छ ।

हेटौंडा सिमेन्टले आफ्नो उत्पादनको एक्स फ्याट्री (उद्योगको ढोकामा बिक्री गरिने) मूल्य प्रतिबोरा ९१३ रुपैयाँ तोकेको छ । जुन अन्य उद्योगको तुलनामा निकै धेरै हो । यसअघि प्रतिबोरा ७६० रुपैयाँ रहेको मूल्य एक्कासी बढेर प्रतिबोरा ९१३ रुपैयाँ पुगेको हो ।

काठमाडौंका उपभोक्ताले हेटौडा सिमेन्ट किन्न प्रतिबोरा १ हजार १० रुपैयाँ तिर्नुपर्छ ।

‘पछिल्लो दिनमा कोइलाको मूल्य अत्याधिक बढेको र हामीले बिगत २ बर्षदेखि सिमेन्टमा मूल्य नबढाएकोले यस पटक मूल्य बढाउनु परेको हो,’ हेटौंडा सिमेन्टका महाप्रबन्धक प्रेम सिंहले क्लिकमाण्डूसँग भने ।

उनले कर्मचारीको तलव वृद्धि २ बर्षमा २५ प्रतिशत भन्दा बढिले बढेकोले उद्योगले मूल्य बढाउनु परेको दाबी गरे ।

अर्को सरकारी उद्योग उदयपुर सिमेन्टको मूल्य ९०९ रुपैयाँ फ्याट्री मूल्य तोकिएको छ । यस अघि ८५२ रुपैयाँ प्रतिबोरा मूल्य रहेको सिमेन्ट पुस १८ गतेबाट लागू हुने गरी ९०९ रुपैयाँ बनाईएको हो ।

उदपपुर सिमेन्ट काठमाडौं ल्याउन चाहने उपभोक्तालाई गाडी भाडा १५० रुपैयाँ र डिलर कमिशन १० रुपैयाँ जोड्ने हो भने १ हजार ७० रुपैयाँ पर्ने छ ।


क्लिकमान्डु