भबन भट्टको कम्पनीले किन घटाउन चाहन्छ तामाकोशी तेस्रोको क्षमता



काठमाडौं । गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टको कम्पनी टिबिआई होल्डीङले तामाकोशी तेस्रो जलबिद्युत् आयोजनाको क्षमता घटाउन विद्युत् विकास विभागमा आबेदन दिएको खुलासा भएको छ ।

प्रारम्भिक अध्यनमा शो आयोजनाको क्षमता ३०० मेगावाट देखि ५०० मेगावाटसम्म हुन सक्ने भन्दै आबेदन दिइएको हो । यसअघि एसएन पावरले ६५० मेगावाट क्षमतामा आयोजना बनाउने भन्दै प्रक्रिया सुरु गरेको थियो ।

बजार नभएको भन्दै एसएन पावरले हात झिकेको आयोजना पछिल्लो समय भट्टको कम्पनी टिबिआई होल्डीङलाई दिइएको थियो । सुरुमा ६५० मेगावाट क्षमतामा नै निर्माणगर्ने भनेर आवेदन दिइएको र अनुमतिसमेत प्राप्त गरेको टिबिआई होल्डीङले क्षमता घटाउने प्रस्ताब गरेको छ ।

सो आयोजनाको अधिकत्तम क्षमतामा बनाउँदा ८८० मेगावाट भन्दा माथि बनाउन सकिने भएपनि क्षमता घटाएर ३०० मेगावाट बनाउने भन्दै विद्युत् विकास विभागमा आवेदन दिइएको पत्ता लागेको छ ।

कुल ८८० मेगावाटमा बनाउँदा दोलखाको पर्यटकीय बजार सिंगटी समेत डुबाउनुपर्ने भन्दै आयोजनाको क्षमता घटाउन दबाव परेको पनि बताइन्छ ।

सुरुमा आवेदन दिदा ६५० मेगावाट क्षमतामा बनाउने भनेर दिइएको आवेदनलाई शंसोधन गर्दै ३५० मेगावाट क्षमता घटाएर ३०० मेगावाटमा झार्ने लक्ष्यका साथ आवेदन दिइएको छ ।

विभागका महानिर्देशक नविनराज सिंहले पनि आवेदन परेको स्वीकार गरेका छन् । विभागले भने उक्त क्षमता बनाउन वा नबनाउने भन्ने विषयमा अध्ययन भइरहेको बताएको छ ।

प्राकृतिक स्रोतको अधिकत्तम सदुपयोग गर्नुपर्नेमा किन क्षमता घटाउन लागिएको हो सो बारेमा भने केही बताइएको छैन । प्रारम्भिक अध्ययनमा ३५० मेगावाटदेखि ५०० मेगावाट क्षमता सम्ममा आयोजना बनाउन उपयुक्त हुने निष्कर्षका साथ त्यस्तो प्रस्ताव गरिएको बताइएको छ ।

तर क्षमता घटाउने विषयमा विभागले अनुमति दिन्छ कि दिदैन भन्नेमा अहिल्यै केही भन्न नसकिने बताइन्छ । यसबारेमा टिबिआई होल्डिङका तर्फबाट सार्वजनिक रुपमा केही बताइएको छैन ।

तर ऊर्जा मन्त्रालय भने अधिकत्तम क्षमताको उपयोग गर्नुपर्नेमा दृढ रहेको बताइएको छ । लगानी बोर्डको कार्यक्षेत्रमा रहेको आयोजना ऊर्जा मन्त्रालयले करार सम्झौता गरेर दिएको भन्दै सर्वोच्चमा समेत मुद्दा परेको थियो ।

सर्वोच्चले टिबिआई होल्डिङलाई आयोजना दिन कुनै वाधा नभएको फैसला सुनाएपछि पुनः काम सुरु भएको थियो । तर पछिल्लो पटक क्षमता घटाउने विषयमा आवेदन परेपछि के गर्ने भन्नेमा भने विभाग र सम्बन्धित अधिकारीले थप जानकारी दिएका छैनन् ।

तामाकोशी नदीलाई हाइड्रो हव र हाइड्रो कोरिडोरको रुपमा लिइन्छ । सो नदीमा मात्रै न्यूनतम ५ हजार मेगावाट बराबरको विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन भएका छन् ।

सो नदीको पानी प्रयोग गरेर नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

माथिल्लो तामाकोशीको बाँध स्थल भन्दा माथि समेत अर्को ३०० मेगावाट क्षमताको आयोजना पहिचान भएको छ । रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट क्षमताकोअर्को आयोजना निर्माण गर्ने तयारी भइरहेको छ ।

तामाकोशी पाँचौ आयोजनाको काम पनि सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी पाँचौको कम्पनी स्थापना गरेर काम सुरु गरिसकेको छ ।


क्लिकमान्डु