औद्योगिक व्यवसाय ऐनअनुसार सुविधा दिन उद्योगी, व्यवसायीहरुको माग



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को एक प्रतिनिधि टोलीले औद्योगिक व्यवसाय ऐन २०७३ अनुसारको सुविधा उद्योगी, व्यवसायीहरुलाई दिन सरकारी अधिकारीहरुसँग माग गरेको छ ।

एफएनसीसीआई टोलीले आज अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगाना, सह-सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक किशोर जंग कार्कीसहितका अधिकारीहरुलगायतलाई भेटेर औद्योगिक व्यवसाय ऐन २०७३मा उल्लेख गरिएअनुसारको छुट उद्योगी व्यवसायीहरुलाई दिन तथा ऐनअनुसारको नियमावली बनाएर लागू गर्न माग गरेका हुन् ।

एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएअनुसार उद्योगहरुलाई २० प्रतिशत छुट दिने भनेर लेखिएको विषयलाई लागू गर्न समेत माग गरेका हुन् ।

त्यसैगरि उनीहरुले ऐन कार्यान्वयन गर्नको लागि नियमावली बनाएर सेवा सुविधा उपलब्ध गराउन माग गरेको टोलीमा सहभागी उद्योगी अन्जन श्रेष्ठले जानकारी दिए ।

‘हामीले ऐनमा भएअनुसारको छुट उद्योगी व्यवसायीलाई दिन माग गरेका हौं, कर बिवरण बुझाउने बेला भएको हुँदा ऐनका प्रावधानहरुलाई लागू गरेर सहजिकरण गर्न भन्यौं,’ उनले भने ।

उनकाअनुसार ऐनमा तोकिएअनुसार सामाजिक संस्थागत उत्तरदायित्वको लागि १ प्रतिशत रकम छुट्याउँदा त्यसमा कर छुट दिने विषयमा पनि छलफल भएको थियो ।

‘उद्योगी व्यवसायीहरु एकातर्फ ऐन अनुसारका छुट नपाउने र अर्कोतर्फ जरिवाना लाग्ने अवस्थामा छन्, यसले हामीलाई दोहोरो मारमा पारेको छ,’ श्रेष्ठले स्पष्ट पारे ।

एफएनसीसीआईको टोलीसँगको भेटमा राजस्व सचिव तथा आन्तरिक राजस्व कार्यालयका महानिर्देशकले अहिले उद्योगीहरुको मा सम्बोधन गर्न नसकिने बताए ।

‘उहाँहरुले अहिले आर्थिक ऐनअनुसार मात्र गर्न सकिने र त्यसभन्दा बाहिर जान नसकिने स्पष्ट पार्नुभयो,आगामी वर्षको ऐनमा मात्र सम्बोधन गर्न सकिने बताउनुभयो,’ श्रेष्ठले भने ।


क्लिकमान्डु