सरकारी नीतिले निर्माण सामाग्रीमा कार्टेलिङ, तत्काल मूल्य वृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग



काठमाडौं । निर्माण व्यवसायी उद्योग महासंगले सिमेन्ट तथा छडको बढेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।

सिमेन्ट तथा छडमा अप्रत्यासीत मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीलाई मात्र नभई सम्पूर्ण अर्थ व्यवसाय धरासायी हुने भएकाले विनाशर्त निर्माण सामाग्रीमा बढाईएको मूल्य फिर्ता लिन महासंघले सरकारसँग माग गरेको हो ।

महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीमात्र नभएर जनतासमेत मारमा परेको बताए ।

‘डिजेलमा एक रुपैयाँ भाउ बढ्दा सिमेन्टमा १ सय रुपैयाँ र छडमा ७ रुपैयाँसम्म बढेको छ, सरकारी नीतिका कारण उद्योगले भाउ बढाउँदा विदेशबाट समेत आयात गर्ने अवस्था छैन,’ श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।

सरकारी नीतिका कारण उद्योगीहरुले आफ्नो उत्पादनमा कार्टेलिङ गरेको उनको आरोप छ ।

‘भारतलगायत अन्य देशबाट कच्चा पदार्थ ल्याउन उत्पादकहरुले १ प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ, हामीले अन्य मुलुकमा उत्पादीत वस्तु ल्याउँदा ३५ प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ,’ उनले भने ।

महासंघका महासचिव रामशरण देउजाले अस्वभाविक रुपमा बढाइएको मुल्य फिर्ता गरेर निर्माण व्यवसायीहरुलाई तत्काल राहत दिनुपर्ने बताए ।

साथै, उनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागु गर्न सरकारसँग माग गरे ।

‘मुलुक नवनिर्माण तथा पूर्ननिर्माणको महत्वपूर्ण चरणबाट गुज्रिरहेको छ, उत्पादकहरुले यसलाई कमाउने मौकाका रुपमा लिएर मूल्य बढाएका हुन्,’ उनले भने ।

सिमेन्ट उत्पादकहरु भने भारतबाट आउने क्लिंकर र कोइलाको मूल्य बढेकाले नेपाली उत्पादनमा मूल्य बढाउनु परेको बताउँछन् । त्यस्तै छडको कच्चा पदार्थ प्राइम ब्लेड चीन र भारतबाट नेपाल आयात हुने गरेको छ । हाल ब्लेड निकै कम मात्र आयात भएकाले छडको मूल्य बढेको उत्पादकहरुको भनाई छ ।

भारतबाट क्लिंकर आयात गर्ने उद्योगको मूल्य बढ्नुलाई स्वभावीक रुपमा लिन सकिए पनि नेपालकै क्लिंकरको प्रयोगबाट सिमेन्ट उत्पादन गर्नेको मूल्य समेत अस्वभाविक रुपमा बढाइनु न्यायोचित नभएको यता निर्माण व्यवसायीहरुको भनाई छ ।

अहिले सिमेन्ट तथा छडमा अस्वभाविक रुपमा मूल्य वृद्धि हुनुमा प्रदेश सभा तथा प्रतिनिधि सभाका लागि उद्योगीहरुले निर्वाचनमा दिएको चन्दा उठाउने काइदा हुन सक्ने निर्माण व्यवसायीहरु बताउँछन् ।


क्लिकमान्डु