प्रदेश र स्थानीयत तहको खर्च र आम्दानी एकैचोटी हेर्न सकिने




काठमाडौं । सार्बजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिबालयले प्रदेश र स्थानीय तहको आम्दानी र खर्च प्रणालाई एकरुपता दिन सुत्र नामक सफ्टवयर लेखा प्रणालीको विकास गरेको छ ।

पेफा सचिबालयले स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणाली विकास गरेको हो । यसलाई अंग्रेजीको छोटकरीमा सुत्र नाम दिइएको छ । यो प्रणाली अर्थमन्त्रालयको बजेट तथा कार्यक्रमम महाशाखाको निर्देशनमा बनाइएको सचिबालयका सदस्य सचिब मुरारी निरौलाले जानकारी दिए । यो लेखा प्रणाली महालेखा नियन्त्रकको कार्यालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा बनाइएको हो ।

यो प्रणालीलाई सरकारले मंसिर ३ गते स्वीकृत गरेको छ । सबै स्थानीय तह र प्रदेश सरकारलाई निःशुल्क उपलब्ध गराइने यो प्रणाली संचालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको प्रशिक्षण तथा संचालन लागत मात्रै ब्यवस्थापन गरे पुग्ने सदस्य सचिब निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार यो प्रणाली माइक्रोसफ्ट विन्डोज प्लाटफर्ममा आधारित वेब बेस्ड प्रणाली हो । अनलाइनमा आधारित यो प्रणाली कुनै पनि वेब ब्राउजरबाट सहजै खोल्न सकिनेछ । तर यसका रिपोर्टस् राम्रो रुपमा प्राप्त गर्न र प्रिन्ट गर्न भने फायरफक्स ब्राउजर बढी प्रभावकारी रहेको छ ।

‘यो प्रणालीको अर्काे राम्रो पक्ष भनेको इन्टरनेट नभएको अबस्थामा अफलाइन भर्सन चलाउन पनि सकिन्छ, अफलाइनमा तयार गरिएको डाटाबेसलाई इन्टरनेट भएको स्थानमा गएर अपलोड गर्न मिल्छ,’ सदस्यसचिब निरौला भन्छन् ।

पेफा सचिबालयले ड्रिम प्रोजेक्टको रुपमा बनाएको यो प्रणाली सबै स्थानीय तहलाई प्रयोग गर्न अर्थमन्त्रालयले निर्देशन दिइसकेको छ । यो प्रणाली लागू भएपछि सबै स्थानीय तहले गर्ने आम्दानी, प्राप्त गर्ने स्रोत र गरेको खर्च अर्थात आम्दानी र खर्चलाई एउटै स्वरुपमा राख्न सहयोग पुग्ने पेफाको विश्वास छ ।

यो प्रणाली लागू भएपछि कुन स्थानीय तहले कति रकम प्राप्त गरे, के कस्तो परियोजनामा कति रकम खर्च गरे भन्ने जस्ता विवरण केन्द्रले समेत हेर्न सक्ने भएको छ । प्रदेश गठन भएर काम गर्न थालेपछि उसले प्राप्त गर्ने आम्दानी र खर्चलाई पनि यही प्रणालीमा प्रविष्ट गर्न लगाइने पेफाको योजना छ ।


क्लिकमान्डु