ग्यास विक्रेताहरुले कमिसन बढाउन माग गर्दै प्रधानमन्त्रीलार्इ भेटे



काठमाडौं । ग्यास विक्रेता महासंघले बिक्रेताहरुको कमिसन बढाउनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। महासंघले प्रधानमन्त्री देउवालाई भेटेर हाल आफूहरुले पाउँदै आएको कमिसन न्यून भएको र व्यवसाय गर्न नसकिने अवस्था भएको हुँदा कमिसन बढाउन माग गरेका हुन्।

यसअघि आयल निगम तथा आपूर्ति मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेका हुन्।

हाल ग्यास बिक्रेताहरुले एउटा सिलिण्डर बिक्री गरे बापत ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन्। यो कमिसनको रकम कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको महासंघका महासचिव चन्द्र थापाले जानकारी दिए।

‘खर्च बढ्यो, लगानी पनि बढ्यो, धेरै व्यवसायीहरु व्यवसाय बन्द गर्न बाध्य भएका छन् त्यसैले कमिसन बढाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।

ग्यास विक्रेताहरुले लगानी अर्थात खरिद मूल्यको ५ प्रतिशत कमिसन पाउनुपर्ने माग गरेका छन्। अर्थात हाल प्रति सिलिण्डर खरिद मूल्य १ हजार ३ सय ४३ रुपैयाँको ५ प्रतिशतका दरले ६७ रुपैयाँ १५ पैसा बनाउनुपर्ने उनीहरुको माग छ।

उनकाअनुसार प्रधानमन्त्रीले सो विषयमा सम्बन्धित मन्त्रालयसँग बुझेर समस्याको समाधान गर्ने तथा बिक्रेताहरुको मागप्रति सकारात्मक रहेको बताए ।

महासंघले आफ्ना मागहरु पुरा नभए अान्दाेलनमा जानुपर्ने बाध्यता समेत रहेकाे जानकारी गराएकाे छ ।

यस क्षेत्रमा देखिएका समस्याका विषयमा यसअघि पुस २१ गते महासंघले नेपाल आयल निगमको ध्यानाकर्षण समेत गराएको थियो ।


क्लिकमान्डु