मौरीको घार बेचेरै लाखौं रुपैयाँ कमार्इ
बागलुङ । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।
दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी १२ लाख रुपैयाँ भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लाग्नुभएका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा वर्षमा ८०० भन्दा बढी मौरीका घार बन्ने गरेका छन् ।
साठी भन्दा बढी घारमा मौरीपालन गर्नुभएका उनले वार्षिक सरदर ५०० किलो मह बेच्छन् । प्रतिकिलो एक हजार रुपैयाँमा मह बेचेर पनि खत्रीले राम्रो आम्दानी गर्दै खत्रीले विसं २०५० देखिको यो पेशालाई व्यावसायिक बनाएका हुन् ।
‘शुरुमा पाँच लाख रुपैयाँ लगानी भएको थियो, केहीले उद्योगमा रोजगारी पाएका छन्,’ खत्रीले भने ।
बुबाको सीप र अनुभवबाट सिक्दै परिवार नै मौरीपालनलाई व्यावसायिक बनाउन लागिपरेको खत्रीले बताए।
उनको उद्योगमा बन्ने आधुनिक मौरीका घार लिन बागलुङसहित छिमेकी जिल्लाका किसानसमेत आउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले खत्रीकै उद्योगबाट वर्षेनी सयौँ घार खरिद गर्दै आएको छ । व्यावसायिक मौरीपालक किसानलाई अनुदानमा घार उपलब्ध गराउन कार्यालयले उक्त उद्योगबाट घार किन्ने गरेको छ । खुद्रा किन्दा प्रतिघार दुई हजार ५०० रुपैयाँ पर्ने गरेको छ भने कृषि कार्यालयले एकमुष्ठ किन्दा प्रतिघार दुई हजार ४०० रुपैयाँ तिर्ने गरेको छ ।
कार्यालयले सो मूल्यमा २५ प्रतिशत अनुदान कटौती गरी किसानलाई घार उपलब्ध गराउँदै आएको छ । पर्वत र म्याग्दीका कृषि विकास कार्यालयसँग पनि घार खरिदका लागि पहल गरिएको खत्रीले बताए।
खत्रीको उद्योगमा आधुनिक ‘न्युटन बी’ सेरेनाको घार बन्ने गरेको छ । घार बनाउन प्रयोग हुने टुनी, उत्तीस, लाँकुरीजस्ता काठ गाउँमै खरिद गर्ने गरिएको छ । घार बनाउन चाहिने कच्चा पदार्थ र सामग्री बजारबाट किन्ने गरिएको उनको भनाइ छ ।
खत्रीका अनुसार उद्योगबाट मौरीसहितका घार पनि बेच्ने गरिएको र त्यस्तो घारको मुल्य छ हजार रुपैयाँ पर्छ । मौरीपालक बढेसँगै आधुनिक घारको माग पनि बढेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । मौरीपालक किसानलाई अनुदान उपलब्ध गराएपछि थप आकर्षण बढेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीले बताए ।
कार्यालयले किसानको दक्षता बढाउन सीपमूलक तालीममा पनि पठाउने गरेको उनको भनाइ छ । खत्रीका अनुसार हाल जिल्लामा सात हजारभन्दा बढी घारमा मौरीपालन गरिएको छ ।