आर्थिक क्षमतामा म्यानचेस्टर सिटी सबैभन्दा बलियो



काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा आसिन म्यानचेस्टर सिटी आर्थिक क्षमताको आधारमा विश्वको सबैभन्दा बलियो क्लब भएको छ ।

सोकरेक्स, हालसालै सार्वजनीक गरेको नयाँ वरियतामा म्यानचेस्टर सिटी आर्थिक क्षमतामा विश्वको सबैभन्दा शक्तिशाली क्लब देखिएको हो ।

सो वरियतामा बेलायतका क्लबहरुको वर्चस्व छ । शीर्ष १० मध्ये ५ वटा क्लबहरु बेलायतका छन् । आर्सेनल दोश्रो, टोटेनह्याम पाँचौ, म्याचेस्टर युनाइटेड सातौ र चेल्सी नौं स्थानमा छन् ।

यो सूची ५ वटा विधाको आधारमा तयार गरिएको हो । जसमा आगामी दिनमा क्लबले गर्न सक्ने लगानीका साथै खेलाडीको मूल्य, रंगशाला र अभ्यास ग्राउण्डको मूल्य, बैंक खातामा भएको पैसा तथा तिनीहरुको ऋणको हिसाबका आधारमा सूची तयार परिएको हो ।
म्यानचेस्टर सिटी अबु दुवाईका अर्बपति शेख मनसुरको लगानी छ । उनले सन् २००८ मा म्याचेस्टर सिटी खरिद गरेसँगै क्लबमा अर्बैको लगानी गरिसकेका छन् ।

उनले चालु सिजनमा मात्र खेलाडी खरिदका लागि २ सय १५ मिलियन पाउण्ड खर्चिसकेका छन् । यो प्रिमियर लिगमा खेलाडी खरिदका लागि एउटै सजिनमा खर्चिको सबैभन्दा ठूलो रकम हो ।

सोकरेक्सले आर्सेनललाई २ सय मिलियन पाउण्डमा नेमार खरिद गर्ने पिएसजीभन्दा अगाडि राखेको छ । खेलाडी खरिद बिक्री प्रकृयामा आर्सेनलले अपनाउने नीतिका कारण पिएसजीभन्दा अगाडि राखिएको सोकरेक्सले जनाएको छ ।

हालको दिनमा आर्सेनलले खेलाडी खरिदमा थोरै पैसा खर्चिए पनि आगामी दिनमा लगानी गर्ने अधिक क्षमता क्लबमा भएको अध्ययनमा लेखिएको छ ।

साथै, चेल्सीमा रसियन अर्बपछि रोमन अर्बामोविचले लगानीको खोलो ओइरे पनि नौ स्थानमा छ । सोकरेक्सका अनुसार उनले लोन मार्फत क्लबमा लगानी गरेका छन् । जसका कारण चेल्सी ऋणमा छ ।

शीर्ष १० क्लब
-म्यानचेस्टर सिटी
-आर्सनल
-पीएसजी
-गोन्जाउँ इभरग्रान्डे
-टोटेनह्याम
-रियल म्याड्रिड
-म्यानचेस्टर युनाइटेड
-युभेन्टस्
-चेल्सी
-बार्सिलोना

वरियतामा चिनियाँ क्लब गोन्जाउँ इभरग्रान्डे स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनालाई पछाडि पारेको छ । यसले विश्व फुटबल बजारमा चिनियाँ क्लबहरुको बलियो उपस्थिति दर्शाउछ ।

वरियातको शीर्ष १ सय स्थानमा ९ वटा चिनियाँ क्लब छन् । यो संख्या फ्रान्स, जर्मनी र इटालीको भन्दा धेरै हो ।

अध्ययनका अनुसार रियल म्याड्रिड र बार्सिलोनाको वरियता कम हुनुमा लगानीकर्ताको संरचना र लगानीकर्ताको लगानी क्षमता प्रमुख कारण बताइएको छ ।

सोकरेक्सका मार्केटिङ डाइरेक्टर डेभिट राईटको भनाई अनुसार अध्ययनले विगत २ दशकमा विश्व फुटबलको अर्थतन्त्र कुन दिशा तिर्फ गइरहेको प्रष्ट पारेको छ ।


क्लिकमान्डु