गुणस्तर विभागद्धारा गुणस्तर प्रमाण चिह्न नभएका उद्योगलाई ग्यास बिक्रीमा रोक



धुलिखेल । गुणस्तर तथा नाप तौल विभागले काभ्रेपलाचोक जिल्लामा मापदण्ड विपरीत ग्यास उद्योग सञ्चालन गरेको जनाउँदै उत्पादन तथा बिक्री वितरण नगर्न आज निर्देशन दिएको छ ।

विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले जिल्लाका सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेको थियो । अनुगमन गरिएका ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिनका लागि फाराम भरेको तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए ।

‘सगरमाथाबाहेक अरु ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिनको लागि फारामसमेत भरेका छैनन्,’ उपाध्यायले भने, ‘अब ती ग्यास उद्योगले भरेका सिलिण्डरबाहेक अन्य सिलिण्डर भर्न र उत्पादन एवं बिक्रीवितरण गर्न समेत पाइँदैन ।’

सरकारले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ । अनिवार्य रुपमा एनएस लिएको र पूरासमेत गरेको हुनुपर्नेमा त्यो नभएको कारण ती उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइसकेको उनले बताए ।

सरकारले राजपत्रमा गत साल कात्तिक २९ गते प्रकाशन गरेको सूचनानुसार तीन महिनाभित्र फाराम भरी गुणस्तर प्रमाण चिह्न ती उद्योगले नलिएको पाइएको छ । केही उद्योगले सेफ्टी भल्बसमेत आफँैले मर्मत गरेर बजारमा पठाइएको देखिएको अनुगमन टोलीले जनाएको छ ।

उद्योगी अमृत अग्रवालले एकैचोटि ग्यास उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई  मर्का पर्ने भएकाले अलि समय दिएर निश्चित मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए ।

सगरमाथा ग्यास उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा छ । त्यस्तै सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेका हुन् ।

जिल्लामा तीलगायत उग्रचण्डी ग्यास उद्योग र हिमाल ग्यास उद्योग गरी पाँच ग्यास उद्योग सञ्चालनमा ल्याए पनि कुनै पनि उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन् । चिह्न प्राप्त नगरेकै कारण अब काभ्रेपलाचोकमा सञ्चालनमा ल्याएका सबै ग्यास उद्योगले ग्यास उत्पादन तथा बिक्री वितरण गर्न पाउने छैनन् ।


क्लिकमान्डु