स्याउ र केरा खादा ४ महिनामै सकियो साढे ३३ करोड रुपैयाँ




काठमाडौं । नेपालीले चार महिनामा स्याउ र केरा खाएरै साढे ३३ करोड रुपैयाँभन्दा बढी सकेका छन् ।

सो अबधिमा नेपालीले ३१ करोड १५ लाख रुपैयाँको स्याउँ र २ करोड ४० लाख रुपैयाँको केरा खाएका भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालको उपभोग आयातमा निर्भर छ । विदेशबाट रेमिटेन्स ल्याउने र बाहिरबाट आयात गरेर खाने हाम्रो बानी भइसकेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालीले स्याउ मात्र ३१ करोड १५ लाख रुपैयाँको आयात गरेर खाएका छन् । नेपालमा चीन, भारत र अमेरिकाबाट स्याउ आउने गर्छ ।

नेपालले चार महिनामा १७ करोड रुपैयाँको स्याउ चीनबाट, १३ करोड रुपैयाँको स्याउ भारत तथा ५१ लाख रुपैयाँको स्याउ अमेरिकाबाट ल्याएको छ ।

चीनबाट १७ करोड रुपैयाँमा ३२ लाख किलो स्याउ भित्रिएको छ । यसमध्ये १३ करोड रुपैयाँमा भारतबाट १९ लाख किलो स्याउ भित्रिएको छ । यस्तै ५१ लाख रुपैयाँमा ४१ हजार किलो स्याउ अमेरिकाबाट भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा नेपालीले ४ अर्ब ८६ करोड रुपैयाँ स्याउ आयात गरेर खाएका थिए ।

अघिल्लो वर्षको तथ्यांक अनुसार चीनबाट ३ अर्ब ६७ करोड, भारतबाट १ अर्ब १९ करोड, अमेरिकाबाट ५२ करोड र श्रीलंकाबाट २ लाख रुपैयाँको स्याउ भित्रिएको थियो । करिब ५ अर्ब खर्च गर्दा नेपालले स्याउ खानको लागि ८ करोड २८ लाख किलो स्याउ नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा १२ लाख ७३ हजार किलो केरा भित्रिएको छ । केरा खानको लागि २ करोड ४० लाख रुपैयाँ कात्तिक महिनासम्ममा बाहिरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा ४१ करोड रुपैयाँको केरा नेपालीले आयात गरेर खाएका थिए । ४१ करोड रुपैयाँ खर्च गर्दा २ करोड ६० लाख किलो केरा नेपाल भित्रिएको थियो ।

यस आधारले हेर्दा एउटा नेपालीले औसतमा अघिल्लो वर्ष २ किलो ७६० ग्राम स्याउ र करिब १ किलो केरा आयात गरेर एक वर्षमा खाने गरेको देखिएको छ ।

नेपालको अर्थतन्त्रमा प्रमुख समस्या रहेको व्यापार घाटा भने बर्सेनि बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले २६ अर्ब ३५ करोडको निर्यात तथा ३ खर्ब ३४ अर्ब रुपैयाँको आयात गरेको छ ।

नेपालको निर्यात बढ्न सकेको छैन । पेट्रोलिय पदार्थ, गाडी तथा पाटपुर्जा, सुन चाँदी, फलाम लगायतका वस्तु आयात हुनु स्वभाविक मानिए पनि दैनिक भान्छामा प्रयोग हुने खाद्यान्य तरकारीको आयात अत्याधिक बढ्दो । यसले व्यापार घाटा बढाएको छ भने शोधानान्तर बचतमा समेत असर गरेको छ ।


क्लिकमान्डु