काठमाडौंले पढ्नसमेत नपत्याएका ढुंगाना बने बैकर्स संघको अध्यक्ष




काठमाडौं । ज्ञानेन्द्र ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष हुने पक्कापक्की देखेपछि हामीले भेटेरै बधाई तथा शुभकामना दियौं ।

‘भूतले खाजा खाने समयमा अध्यक्ष हुन लागेको छु, त्यो पनि अध्यक्ष निर्वाचित नभई कसरी बधाई तथा शुभकामना थापूँ ? तैपनि शुभेच्छा प्रकट गनुभएकोमा धन्यबाद छ,’ ढुंगानाले प्रतिक्रिया दिए ।

एनबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगाना बैंकर्स संघका उपाध्यक्ष थिए । अध्यक्ष अनिल शाहको कार्यकाल सकिएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारीमा थिए उनी । बैंकरहरुबीच ढुंगानालाई नै अध्यक्ष बनाउने भद्र सहमति भइसकेको थियो । यही सूचनाका आधारमा हामीले अग्रिम बधाई दिएका थियौं ।

बिहीबारको बैंकर्स संघको साधारणसभाले ढुंगानालाई अध्यक्षमा निर्वाचित गरिसकेको छ । दुई कार्यकाल अघि अर्थात् राजनसिंह भण्डारी अध्यक्ष रहेको कार्यसमितिको सदस्यमा निर्वाचित भएका ढुंगाना छोटो अवधिमै अध्यक्ष निर्वाचित भए ।

‘परिस्थितिले अध्यक्ष बनाइदियो,’ ढुंगानाले सुनाए ।

बैंकर्स एसोसिएसन भोलिन्टियर संस्था हो । यद्यपि पोलिसि लेभलमा यसको निकै ठूलो महत्व छ । राष्ट्र बैंक र अर्थ मन्त्रालयले कतिपय अबस्थामा संघको सुझाब लिएर नीतिहरु बनाउँछन् ।

‘राज्यलाई परेको समस्यामा हामीले काम गरेका छौं । र, अझै सक्रिय भएर गर्छौं,’ ढुंगाना भन्छन् ।

संघ २८ वटा वाणिज्य बैंकको संस्था भएको हुँदा राष्ट्र बैंकले जारी गर्ने निर्देशन संघसँग सल्लाह गरेर मात्रै गर्ने हो भने वित्तीय क्षेत्र मात्रै नभई अर्थतन्त्र नै राम्रोसँग अघि बढ्ने उनको तर्क छ ।

बैकिङ प्रवद्र्धन समिति मार्फत वित्तीय साक्षरता बढाउने अभियानलाई अझ मजबुत बनाउने आफ्नो योजना रहेको ढुंगानाले सुनाए ।

संघले आफ्नो कार्यालयमा रिक्स म्यानेजमेन्ट डेक्स स्थापना गरिसकेको छ । अहिले उक्त डेस्कले काम गर्ने मोडालिटी तयार भइरहेको छ ।

‘बैंकमा आउन सक्ने जोखिम र सूचनाको आदानप्रदान कसरी गर्ने र यो क्षेत्रमा नै जोखिम न्यूनिकरण गर्दै जाने भन्ने हाम्रो ध्येय हो,’ उनी भन्छन् ।

त्यसैगरी, संघलाई रिसर्चबेस र डाटा बैंकको काम गर्ने संस्थाको रुपमा अघि बढाउने योजना पनि छ उनीसँग ।

‘संघका २८ वटै सदस्यसँग घनिभूत र सामूहिक छलफल गरेर अघि बढ्छु’ उनले भने, ‘राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्य सरोकारवाला नियकायलाई सँधै रचनात्मक सहयोग गरिरहन्छु ।’

–––
एसएलसी पास गरेपछि साइन्स पढ्ने सपना बोकेर काठमाडौं आए उनी । जब उनले तेह्रथुम सदरमुकाम म्याङ्लुङस्थित सिंहबाहिनी माविबाट ३६/३७ वर्षअघि एसएलसी दिएका थिए ।

एसएलसीमा जिल्ला फस्ट थिए उनी । तर, डिभिजन थियो सेकेन्ड । त्यसैले पुल्चोक इन्जिनियरिङ क्याम्पसले उनको आवेदन नै लिएन ।

त्यसपछि कमर्श पढ्न शंकरदेव र मिनभवनतिर हानिए । त्यहाँ पनि उनको नाम निस्किएन । र, धरान गएर कमर्श पढ्न थाले । एक प्रकारले भन्ने हो भने उनलाई काठमाडौंले पढ्न समेत पत्याएन ।

‘इन्जिनियर हुने सोच थियो, एसएलसीमा फस्ट डिभिजन नपुगेकाले साइन्स पढ्न पाइँन, अनि व्यवस्थापन पढ्नु पर्यो र, संयोगले बैंकको जागिरे हुन पुगेँ,’ ढुंगानाले सुनाए ।

यसरी बाध्यतामा कमर्श पढ्न थालेका उनी विद्यार्थीकालमै पूरै भारतको भ्रमणमा निस्किए । भारतको भ्रमण गर्दा चाटर्ड एकाउन्टेन्सी पढ्दा मालामाल पैसा कमाइने रहेछ भन्ने थाहा पाए । र, बिकमको रिजल्ट आएपछि सीए पढ्न भारत हानिए । त्यो बेला भारतमा सीए पढ्न जानेको लहर नै थियो ।

सीएको पढाइ सकेर काठमाडौं फर्किएको केही महिनामै बैंक अफ काठमाण्डूले कर्मचारी माग्यो । ढुंगानाले पनि आवेदन दिए । परीक्षा दिए । नाम निस्कियो ।

‘संयोगले बैंकको जागिरे भएँ,’ ढुंगानाले प्रष्ट पारे । यो सन् १९९४ सालको कुरा हो ।

बैंकको जागिर राम्रै चलिरहेको थियो । सुरुवाति चरणमै मासिक १५ हजार तलब थाप्थे उनी । सन् २००१ मा राष्ट्र बैंकले कर्मचारी माग्यो । गोरखापत्रमा विज्ञापन देखे उनले । र, आवेदन फारम भरे । परीक्षा दिए । पास पनि भए ।

निजी बैंकमा काम गरिरहेका ढुंगाना नियामक राष्ट्र बैंकको कर्मचारी भए । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरे । सो क्रममा विदेश गएर पढे पनि । पछि बढुवा भएर निर्देशक बनेका थिए । तर, राष्ट्र बैंकको अनुभव लिएर निजी बैंकमा जाने हो भने केही गरेर देखाउन सकिन्छ भन्ने लाग्यो । र, राष्ट्र बैंकको जागिरबाट राजिनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए ।

एनसीसी बैंकमा ६/७ महिना मात्रै काम गरे । र, एनबी बैंकमा सीइओको नियुक्ति लिए ।

‘बैंक अफ काठमाण्डूमा जागिर सुरु गर्दा न राष्ट्र बैंकमा जागिरे हुन्छु भन्ने सोचेको थिएँ, न त बैंकको सीइओ नै हुन्छु भन्ने साचेको थिएँ,’ ढुंगाना भन्छन्, ‘आज जहाँ छु, यो भनेको इमानदारीपूर्वक काम गर्दै जाँदा पाएको प्रतिफल हो ।’

तर, राष्ट्र बैंकको जागिरे भएपछि भने उनी महत्वकांक्षी भए । र, कुनैदिन राष्ट्र बैंककै गभर्नरसम्म बन्ने सपना देख्न थाले ।

‘राष्ट्र बैंकको जागिरे भएपछि बैंकिङ क्षेत्रको उच्चतम पदमा बसेर काम गर्ने महत्वकांक्षा पलाएको थियो, जुन अहिले पनि छ,’ ढुंगानाले सुनाए ।

त्यसो त अहिलेको कार्यकालको गभर्नर नियुक्तिको समयमै ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन ।

‘समयले साथ दियो भने आगामी दिन पक्कै सफल हुन्छु,’ उनले भने ।

बैंकको सीइओ भएर यस्तो काम गरेँ
आफू बैंकको सीइओ भएर आएपछि एनबी बैंकमा चमत्कारिक सुधार आएको दाबी गर्छन् ढुंगाना ।

भन्छन्, ‘म यहाँ आउदा बैैंकको निष्क्रिय कर्जा १८ प्रतिशत थियो । ब्यालेन्ससिट साइज १३ अर्बको थियो । १७ वटा शाखा र सेयर मुल्य १५० रुपैयाँ थियो । अहिले निष्क्रिय कर्जा १ प्रतिशतभन्दा कम छ । ब्यालेन्ससिट साइज ५० अर्बको छ । ननफन्डेड जोड्दा ८० अर्बको पुगेको छ । ५५ वटा शाखा, साढे ६ सय कर्मचारी छन् । ५ वर्षको अवधीमा बोसन सेयर १०० प्रतिशत दिइसकेका छौं । चुक्ता पुँजी ८ अर्ब पुगेको छ । सेयर मुल्य ३ सयको हाराहारी छ ।’

समकालिन बैंकहरुको तुलनामा एनबी बैंकले प्रगति गर्न नसकेको स्वीकार गर्छन् उनी । एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू र एनबी बैंक एउटै साल स्थापना भएका थिए । यी दुई बैंकको तुलनामा एनबी बैंक केही कमजोर देखिन्छ ।

‘यो बैंकको सञ्चालक समितिमा लामो समय विवाद थियो, जसकारण बैंकले तुलनात्मकरुपमा उल्लेख्य प्रगति गर्न सकेन,’ ढुंगाना भन्छन्, ‘अहिले त्यो समस्या सुल्झिसकेको छ । अब बैंकले गति लिन्छ ।’

अहिले बैंक अग्र्यानिक ग्रोथमा अघि बढेको बताउँछन् उनी ।

‘यो बैंक बंगलादेश बैंकको संयुक्त लगानीमा सञ्चालन रहेकाले एकैपटक ठूलो ग्रोथको सपना पनि छैन, वार्षिक २० प्रतिशतको हाराहारीको सस्टेनेवल ग्रोथ गर्ने नै हाम्रो योजना हो,’ उनले सुनाए ।

५ वर्षपछि…
ढुंगानाका अनुसार ५ वर्षपछि बैंकको ब्यालेन्सिटको आकार १ खर्बको हुन्छ । ७७ वटै जिल्लामा १०० वटाभन्दा बढी शाखा सञ्जाल विस्तार भएको हुनेछ । निष्क्रिय कर्जा १ प्रतिशतभन्दा तल हुन्छ । नयाँ कोर बैकिङ सफ्टवेयर हुन्छ । प्रोडक्टहरु डिजिटलाइज हुन्छन् ।


क्लिकमाण्डू